
दाङ, २९ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जमा सबैभन्दा धेरै उजुरी दाङका रहेका छन् । जसमध्ये तुलसीपुर उपमहानगरपालिका धेरै उजुरीको चाङ रहेको पालिकाको पहिलो सुचिमा रहेको छ ।
चालु आर्थिक वर्षको पुस मसान्तसम्म परेका सबै भन्दा बढी उजुरी दाङ र दोस्रोमा बाँके रहेको छ ।
आयोगको ३४ औं स्थापना दिवशको अवसरमा आयोजित कार्यक्रममा कार्यालयको कार्यक्षेत्र बाँके,बर्दिया,दाङ र रोल्पाबाट परेका उजुरी मध्ये सबैभन्दा बढी दाङ र दोस्रोमा बाँके रहेको कार्यालय प्रमुख गणेशबहादुर अधिकारीले जानकारी दिनुभयो ।
गत वर्ष बाँके पहिलो, दाङ् दोस्रो थियो । कार्यालयको कार्य क्षेत्रमा रहेका ३६ स्थानीय तहमा तुलसीपुर उपमहानगरपालिका २३ वटा उजुरी सहित सबैभन्दा धेरै उजुरी पर्ने पालिकाको पहिलो नम्बरमा रहेको छ ।
उहाँका अनुसार आयोगको कार्यक्षेत्र भित्रका बाँके,बर्दिया,दाङ र रोल्पा जिल्लाबाट परेका उजुरी ४ सय ७२ मध्ये २ सय ९५ वटा फर्च्योट भएको र १ सय ७७ उजुरी बाँकी रहेका छन् ।
आयोगमा परेका जिल्लागत उजुरीको संख्याको आधारमा दाङ १ सय ७५ पहिलो, बाँके १ सय ७४ दोस्रो,बर्दिया ६३ सहित तेस्रो र रोल्पा ६० वटा उजुरी सहित चौथो स्थानमा रहेको छ ।
यस्तै नेपालगञ्ज उपमहानगरपालिका २१ सहित दोस्रो, कोहलपुरमा २० सहित तेस्रो, बढैयाताल गाउपालिका १५, गंगादेव, डुडुवा,दंगिशरण र सुनिलस्मृती गाउपालिकामा १४ रहेका छन् ।