
दाङ, २३ माघ । बजारमा अझै पनि अधिकांश व्यवसाय मापदण्ड बाहिर संचालित छन् । व्यवसायीको अटेरीका कारण उपभोक्ता ठगिन बाध्य छन् भने स्वास्थ्यमाथि गम्भिर खेलवाड हुने गरेको छ ।
व्यवसायलाई मापदण्डभित्र ल्याउन बेला बेलामा गरिने अनुगमनले अझै पनि छुन सकेका छैन् । अहिले पनि धेरै व्यवसाय दर्ता बिनै संचालन हुने गरेका छन् भने खुलेआम म्याद गुज्रिएका सामान बिक्रि हुने गरेको छ ।

बुधबारमात्रै तुलसीपुरमा गरिएको बजार अनुगमनको क्रममा अधिकांश व्यवसाय दर्ता बिनै संचालनमा रहेको देखिएको छ । यस्तै म्याद गुज्रिएका सामान बिक्रि बितरण भएको, नापतौल मेसिन दर्ता नगरि चलाएको, होटलको सरसफाईमा कमि रहेको भेटिएको छ ।
अनुगमनको क्रममा घोराहीरोडमा रहेको सुरेश फलफूल तथा तरकारी पसलबाट दुई वडा डिजिटल तराजु जफत गरिएको छ । डिजिटल तराजु नापतौल विभागमा दर्ता बिनै संचालनमा रहेको भेटिएकाले अनुगमन टोलिले जफत गरेको छ ।

यस्तै सोहि फलफूल पसलसहित दर्ता बिनै संचालनमा रहेका बविता किराना पसल, जेबी फलफूल तथा तरकारी पसल, न्यू पञ्चकन्या टे्रडर्स, पटेल ग्लास हावस, माँ बिष्णुदेवी चाट पसल लगायतलाई तीन दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन गरिएको छ ।
तोकिएको अवधिभित्र दर्ता प्रक्रियामा नआए पसल शिल गरिने तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखाका सहायक खेमकान्त पाण्डेले बताउनुभयो । उहाँले सोमबारसम्म दर्ता प्रक्रियामा नआए पसल बन्द गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

यस्तै राप्ती प्रादेशिक अस्पताल परिसरमा रहेको क्यान्टीन र घोराही रोडमा रहेको चौधरी नास्ता पसलमा सरसफाईको गुणस्तर अत्यन्त कमजोर रहेकोले तीन दिनभित्र सरसफाईमा सुधार गरेको भिडियो सहित कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका सुचना अधिकारी विवेक सुवेदीले बताउनुभयो ।
अनुगमनका क्रममा क्यान्टिनमा भान्साका कर्मचारीले एप्रोन प्रयोग नगरेको, फोहोर व्यवस्थापन अव्यवस्थित रहेको, तरकारी तथा पानी शौचालय नजिक राखिएको, क्यान्टिनमा फेन्सि र किरानाका सामग्रि राखिएको भेटिएको छ । यस्तै घोराही रोडमा रहेको न्यू पञ्चकन्या टे्रडर्सबाट अखाद्यवस्तु मिसिएको बेसन वर्फी, लेबल नभएको दलमोट, भुजा लगायतका सााग्रि जफत गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर, तुलसीपुर उद्योग वाणिज्य संघ, इलाका प्रशासन कार्यालय तुलसीपुर लगायतको सहभागीतामा अनुगमन गरिएको हो ।