
दाङ, २० माघ । तुलसीपुर महोत्सव आधा महिनाभन्दा बढी दिनसम्म संचालन हुने भएको छ । तुलसीपुर चेम्बर अफ कर्मशले आगामी फाुगन १ गतेदेखि १६ गतेसम्म ‘दोस्रो तुलसीपुर महोत्सव’ लगाउन लागेको हो ।
चेम्बरले आइतबार पत्रकार सम्मेलन गरी कृषि, व्यापार, पर्यटन प्रवद्र्धन र कला संस्कृति संरक्षणका लागि आगामी फागुन महिनामा १६ दिनसम्म महोत्सव संचालन गर्ने भएको हो ।
तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले चेम्बरको आफ्नै भवन निर्माणार्थ आगामी फागुनमा महोत्सव लगाउन लागिएको बताउनुभयो । महोत्सव तुलसीपुर–६ घोराहीरोडदेखि उत्तरतर्फ रहेको मैदानमा संचालन हुन लागेको हो ।
स्थानीय वस्तुको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गर्न लागिएको उहाँले बताउनुभयो ।
अध्यक्ष भण्डारीका अनुसार महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनी हुने छ ।
यस्तै विभिन्न जातजातीको खानाको प्रदर्शनी, पर्यटकिय स्थलको प्रचारप्रसार हुने साधनको प्रदर्शनी, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुती, स्थानीय कला संस्कृति झल्कने नृत्य तथा झाँकी, बालउद्यान रहने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रवेशका लागि १०० रुपैँयाको टिकट लाग्ने छ भने ७० वर्ष माथिका जेष्ठ नागरिकले निशुल्क प्रवेश पाउने आयोजकले जनाएको छ । चेम्बरले तुलसीपुर उपमहानगरपालिकालाई २५ लाख राजश्व बुझाएर महोत्सव संचालनको अनुमति लिएको हो । महोत्सवमा स्थानीय व्यवसायीलाई २० प्रतिशत छुटमा स्टल प्रदान गरिने भएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले महोत्सव संचालन अनुमतिका लागि लिने राजश्वमा आगामी दिनमा कमि गराउन नहुने अध्यक्ष भण्डारीले बताउनुभयो । वरिष्ठ उपाध्यक्ष सन्तोष खड्काको स्वागत मन्तव्यबाट शुरु भएको पत्रकार सम्मेलनको सहजीकरण महासचिव दुर्गा प्रसाद शर्माले गर्नुभएको हो ।