२०८२ बैशाख ३० गते मङ्गलवार

वडाले गरिदियो म्यादी जीवन बिमा

दाङ, १० माघ । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ ले जोखिम क्षेत्रमा कार्यरत व्यक्तिलाई म्यादी जीवन बिमा गर्न शुरु गरेको छ । वडाले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड दाङ उपशाखाको सहकार्यमा म्यादी जीवन बिमा गरिदिने भएको हो ।

वडाले पहिलो चरणमा २५० नागरिकलाई म्यादी जीवन बिमा गर्ने वडा अध्यक्ष मोहनलाल पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार वडाका १८ देखि ५५ वर्षसम्मका २५० नागरिकलाई वडा कार्यालयले म्यादी जीवन बिमा गर्नेछ ।

चालु आर्थिक वर्ष २०८१/२०८२ को बजेटले जोखिम क्षेत्रमा कार्यरत नागरिकको म्यादी जीवन बिमा गरिदिने उहाँले बताउनुभयो । उहाँले अहिले छुटेका नागरिकलाई पनि समेट्न सकिने भएकाले वडामा सम्पर्क राख्न अनुरोध गर्नुभएको छ ।

म्यादी जीवन बिमा गरेका नागरिकले दुर्घटनामा चोटपटक लागेमा १० हजारसम्म भुक्तानी पाउने, दुर्घटनाबाट मृत्यु भएमा परिवारले २ लाख पाउने र अन्य कारणले मृत्यु भएमा परिवारले १ लाखसम्म रकम पाउने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लुम्बिनी प्रदेशका प्रमुख बिमल खड्काले बताउनुभयो ।

उहाँले हरेक मानिसले जीवन बिमा अनिवार्य गरिनुपर्ने बताउँदै म्यादी जीवन बिमाले थोरै भएपनि राहत दिने बताउनुभयो । वडामा म्यादी जीवन बिमाको शुरुवात बिहिबारदेखि गरिएको हो ।

वडाले म्यादी जीवन बिमा गरिदिएपछि नागरिक पनि खुशी भएका छन् । वडा अध्यक्ष मोहनलाल पौडेलको अध्यक्षतामा उद्घाटन कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण वडा सचिव कर्ण बहादुर हमालले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ माघ १० गते बिहिवार
प्रतिक्रिया दिनुहोस