
काठमाडौं– ऋषिराज आचार्य निर्देशित बहु प्रतिक्षित फिल्म ‘द्रौपदी’ को टीजर सार्वजनिक भएको छ । सोमवार साँझ सार्वजनिक १ मिनेट ३७ सेकेन्डको टीजर एक महिला पात्रको वरिपरि घुमेको देखिन्छ । महिला संवेदनामा आधारित यो फिल्मले एक अर्गानिक अनि गम्भीर विषय उठाएको संकेत गरेको छ ।
डोल्पाको शे फोक्सुण्डो ताल लगायत कर्णालीको विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको यो फिल्ममा हालसम्म कसैले छायांकन नगरेका एकदमै रमणीय भर्जिन स्थलहरुमा छायांकन गरिएको निर्देशक आचार्यको भनाइ छ । फिल्म आगामी चैत ८ गतेदेखि प्रदर्शनको तयारीमा रहेको छ।
‘द्रौपदी’ अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरि निर्माण भैरहेको बुझिएको छ । यसको स्क्रिप्ट नै करिब चार वर्ष लगाएर लेखिएको बताइन्छ । निर्देशक आचार्यका अनुसार फिल्मलाई अर्गानिक र उत्कृष्ट बनाउनका लागि कुनै कम्परमाइज नगरिएको दाबी रहेको छ।
यो फिल्ममा आश्विनी शाही, रबि ओड, कबिराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई (सुवास), प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी र ऋषिराज आचार्य स्वयंको पनि अभिनय रहेको छ ।
यो फिल्ममा कथा, पटकथा, सम्बाद, गीत तथा निर्देशन ऋषिराज आचार्यको रहेको छ । फिल्मको गीतमा रबि ओड र इन्द्रकला राईको आवाज रहेको छ भने ऋतु आचार्य र सुबास ठडराई यो फिल्मका सह–निर्माता हुन् । आरबि मुभिजको ब्यानरमा बनेको फिल्मका निर्माता ऋषिराज आचार्य र प्रकाश ज्ञवाली हुन् ।
स्मरण रहोस् निदेशक आचार्य चलचित्र उद्योगका पढेलेखेका एवं फिल्म क्षेत्रमा विगत दुई दशकभन्दा बढी सयमदेखि सक्रिय रहेका निर्देशकका रुपमा चिनिनुहुन्छ। आचार्यले सुन्तलीलाई भगाई लग्यो झिल्केले,ड्रीमगर्ल ,मिस्टेक,चुरिफुरी लगाएतका सफल फिल्महरुको निर्देशन गरिसक्नुभएको छ।
भिडियो :