
चैनपुर, १९ पुस । जीप दुर्घटना हुँदा बझाङमा एकै परिवारका तीनसहित जिपमा सवार चार जनाको मृत्यु भएको छ ।
बिहीबार राति तलकोट गाउँपालिकाबाट सदरमुकाम चैनपुर जाने क्रममा धमेना नजिकै से १ ज ८४३ नम्बरको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख युवराज भण्डारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार तीन जनाको घटनास्थलमा र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।
जीप चालक केदारस्यूँ गाउँपालिका–१ रायलका अन्दाजी ३३ वर्षीय शमशेर मल्ल, तलकोट गाउँपालिका–४ की ७२ वर्षीया जौमतीदेवी धामी र उहाँका छोरा ३६ वर्षीय बम्मबहादुर धामीको घटनास्थलमा नै मृत्यु भएको हो भने धामीकै नातिनी छ वर्षीया बालिका आकृति धामीको जिल्ला अस्पताल बझाङ लैजाने क्रममा मृत्यु भएको प्रजिअ भट्टराईले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०८१ पुष १९ गते शुक्रवार