
दाङ, २५ मंसिर । दाङको बबई गाउँपालिका वडा नम्बर ७ मलइका नागरिक सुख सुविधाको लागि अन्यत्र बसाईँ सर्ने क्रम बढेको छ । मलइ गाउँतुलसीपुर बजारदेखि करिब ३० किलोमिटर टाढा पर्छ । बबई गाउँपालिका वडा नम्बर ७ मा पर्ने मलइमा सडक, विद्युतलगायतका सुविधा पुगे पनि भरपर्दो छैन् ।
विकास गाउँतिर सर्दै गर्दा मलइ गाउँका नागरिक भने अन्यत्र बसाई सर्न थालेको स्थानीयवासी मेवालाल बुढामगरले बताउनुभयो । मलइ गाउँका अधिकांश नागरिक कृषि पेशामा निर्भर छन् । तर उनीहरूले गरेको कृषि कर्मबाट ६ महिना पनि खान पुग्दैन । त्यसैमाथि जङ्गली जनावरले सताउने गरेका कारण पनि स्थानीयवासीको बसाइँसर्ने क्रम बढेको हो । यो गाउँमा २०७१ सालतिर २ सय ८० घरधुरीको बसोबास थियो ।
तर पछिल्लो समय गाउँमा करिब १ सय ५० घरधुरीमात्रै बसोबास गर्ने गरेका स्थानीयवासी टोपबहादुर बस्नेतले बताउनुभयो । मलइ गाउँ बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्छ । गाउँमा यातायात, बिजुलीलगायतका सुविधा पुगे पनि निकुञ्जकै कारण स्थानीय बसाई सर्न बाध्य छन् ।
मलइमा अपेक्षाकृत विकास नभए पनि राज्यले सडक, बिजुली लगायतमा लगानी गरिरहेको छ । वस्तीमा विकास लैजान आपूmहरू सबैभन्दा बढी लागि परिरहेको बबई गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष तिलकराम भण्डारीले बताउनुभयो । निकुञ्जका कारण जङ्गली जनावरको आतङ्क र विकासका पूर्वाधार भरपर्दो नहुँदा नागरिकले वस्ती छोड्ने गरेका छन् ।