दाङ, १८ मंसिर । अवरुद्ध घोराही तुलसीपुर सडक सञ्चालनमा आएको छ । सोमबार बेलुका टिप्परले मोटरसाईकललाई ठक्कर दिँदा युवकको मृत्यु भएपछि आफन्तहरुले मंगलबार बिहानदेखि सडक अवरुद्ध गरेका थिए ।
मृतकका आफन्तहरुले क्षतिपूर्तिसहित चालकलाई कार्वाहीको माग गर्दै मंगलबार बिहान ८ बजेदेखि सडक अवरुद्ध गरेका थिए । मृतकका परिवारलाई कानून बमोजिम क्षतिपूर्ति दिने सहमति भएपछि अवरुद्ध बाटो सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
सोमबार बेलुका घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ ख १२९१ नम्बरको टिप्परले सोही दिशातर्फ आउँदै गरेको रा ७ प ७४६ नम्बरको मोटरसाइकललाई झारबैरा चोकमा ठक्कर दिँदा तुलसीपुर-१९ कुटीचौर निवासी १९ वर्षका सुदिप बुढाथोकीको मृत्यु भएको थियो ।
मोटरसाइकलमा सवार तुलसीपुर- १७ निवासी २२ वर्षका दिपक बस्नेत घाइते भएका छन् । उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ ।