२०८१ माघ १ गते मङ्गलवार

सगरमाथा सिमेन्ट उद्योगले सहमति पालना नगरेको भन्दै स्थानीय आक्रोसित


रोल्पा, १८ मंसिर । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ र ४ मा पर्ने रानागाउँमा सगरमाथा सिमेन्ट उद्योगले चुनढुंगा उत्खनन गरिरहेको छ ।

उद्योगले उत्खनन सुरु गर्नुअघि स्थानीय बासिन्दासँग वस्तीका सबै घरजग्गा खरिद गर्ने सहमति गरेको थियो । तर, लामो समय बितिसक्दा पनि उद्योगले उक्त सहमति पूरा नगरेको स्थानीयको गुनासो छ । अहिलेसम्म १७ घरधुरीको मात्र घरजग्गा खरिद गरेर उत्खनन गरिरहँदा बाँकी घरधुरीका बासिन्दा धुलो, धुवाँ, र ध्वनि प्रदूषणको चपेटामा परेका छन् ।

रानागाउँको तल्लो भागमा चुनढुंगा उत्खनन गरिरहेको उद्योगले बाँकी घरजग्गा किन्ने काम स्थगित गरेको छ । यसका कारण वस्तीमा रहेका बासिन्दा ठूलो समस्यामा परेका छन् । आर्थिक अभावका कारण वस्ती छोड्न नसक्ने तर उत्खननको असर सहेर बस्न पनि नसक्ने अवस्था सिर्जना भएको स्थानीय बताउँछन् । ‘उद्योगले हामीलाई ४/५ वर्षदेखि आश्वासन मात्रै दिँदै आएको छ ।’ स्थानीय लक्ष्मी बिकले भन्नुभयो-‘पैसा नहुँदा वस्ती छोडेर जान सक्दैनौं, तर यहाँ बस्दा धूलो, ध्वनि र प्रदूषणका कारण हाम्रो स्वास्थ्य जोखिममा परेको छ ।’

उद्योगले रानागाउँका सबै घरजग्गा किन्ने सहमति गरे पनि हालसम्म मात्र १७ घरधुरीको जग्गा खरिद गरेको छ । बाँकी घरजग्गाको विषयमा उद्योगले कुनै ठोस निणर्य नगरेको स्थानीयले बताएका छन् । ‘रानागाउँका स्थानीयको मुख्य माग भनेको उद्योगले प्रारम्भिक सहमति अनुसार वस्तीका सबै घरजग्गा खरिद गरेर वस्ती खाली गराउनु हो ।’ स्थानीय रनबहादुर बाँठाले भन्नुभयो-‘हाम्रो माग सिधा छ । उद्योगले हामीलाई उचित क्षतिपूर्ति दिएर वस्ती नै उठाउनुपर्छ, नत्र उत्खनन तुरुन्त रोक्नुपर्छ ।’

स्थानीय जानकी बुढाले तल्लो भेगमा उत्खनन भइरहँदा माथिल्लो भेगका बासिन्दालाई धुलो धुवाँ र ध्वनि प्रदुषणको सास्ती खेप्नुपरेको बताउनुभयो । सिद्धेश्वरी प्राथमिक विद्यालयका शिक्षक समेत रहनुभएका बुढाले सिमेन्ट उद्योगले रानागाउँमा चुनढुंगा उत्खनन् गर्दा विद्यालय जाने बालबालिकालाई समेत गम्भिर असर गरेको बताउनुभयो । ‘बालबालिकाले हिउँदमा धुलो र वर्षामा हिलो खान पाउन बाध्य छन् ।’ उहाँले भन्नुभयो-‘चुनढुंगा उत्खनन्को ध्वनि प्रदुषण बालबालिकाले खेप्न बाध्य छन् ।’

बालबालिकाले ध्वनि प्रदूषण र धूलोका कारण कक्षा सञ्चालनमा समस्या भोगिरहेको आधारभुत विद्यालय लामपुत्लीका शिक्षक बलसिं डाँगीले बताउनुभयो । ‘वातावरणीय प्रदूषणका कारण बालबालिकाको स्वास्थ्य र पठनपाठनमा नकारात्मक प्रभाव परेको छ ।’ उहाँले भन्नुभयो-‘हामीले उद्योगसँग बारम्बार सहमति पालना गर्न आग्रह गरेका छौं, तर उद्योगले हाम्रो कुरा सुनेको छैन ।’

संघर्षका कार्यक्रमको घोषणा
स्थानीयले पटक-पटक उद्योगसँग सहमति पालना गर्न आग्रह गरे पनि कुनै चासो नदेखाएपछि संघर्षका कार्यक्रम घोषणा गरेका छन् ।

स्थानीय बासिन्दाले या त उद्योगले सबै वस्ती खरिद गर्नुपर्ने, या उत्खनन कार्य तत्काल रोक्नुपर्ने माग गरेका छन् । संघर्ष समितिका संयोजक ओमराज घर्तीले उत्खननका कारण वातावरणीय प्रदूषण तीव्र रूपमा बढेको बताउनुभयो ।

धूलो र ध्वनि प्रदूषणका कारण वस्तीका नागरिकले स्वास्थ्य समस्या भोग्नुपरेको छ ।

‘चुनढुंगा उत्खननका कारण यहाँको प्राकृतिक वातावरण बिग्रिएको छ ।’ उहाँले भन्नुभयो-‘उद्योगले सहमति पालना नगर्ने हो भने हामी थप कडा संघर्षमा उत्रनेछौं ।’ उहाँले स्थानीयको उद्देश्य चुनढुंगा उत्खनन बन्द गराउनु नरहेको समेत बताउनुभयो ।

‘हाम्रो उद्देश्य उत्खनन बन्द गराउनु होइन्, तर उद्योगले कम्तिमा पनि पहिले गरेका सहमती पालना गर्नुपर्छ, हाम्रो वस्ती नै उठाएपछि अहिलेको समस्याबाट हामीहरु मुक्त हुनेछौँ ।’

घोराही सिमेन्ट उद्योगले प्रारम्भिक सहमति पालना नगरेका कारण स्थानीय बासिन्दा अन्योलमा परेका छन् ।

यदि समस्या समाधानका लागि उचित कदम चालिएन भने, यसले उद्योग र स्थानीय बासिन्दाबीच थप तनाव सिर्जना गर्ने देखिएको स्थानीय नेपाली कांग्रेसका नेता दुर्योधन रानाले बताउनुभयो । ‘स्थानीय सिधासादा नागरिकलाई उद्योगले ठग्न पाइदैन्, उहाँहरुले न्याय पाउनुपर्छ ।’ उहाँले भन्नुभयो-‘यसका लागि स्थानीय सरकारले पनि जिम्मेवारी लिनुपर्छ ।’

प्रकाशित मिति : २०८१ मङ्सिर १८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस