२०८१ मङ्सिर २३ गते आइतवार

जडीबुटी र फलफूलको व्यावसायिक खेतीबारे किसानको चासो

सल्यान,१३ मंसिर । सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ५ रिममा जडिबुटी र फलफूलको व्यावसायिक खेतीबारे किसानले चासो राखेका छन् । प्रगतिशिल बहुउद्देश्यीय कृषि तथा बाख्रापालन कृषक समूहले आज आयोजना गरेको छलफल कार्यक्रममा किसानले जुडिबुटी र फलफूल खेतीको व्यावसायीकताबारे चासो राखेका हुन् ।

स्थानीय सरकार प्रमुख, किसान, सरोकारवाला, कृषि विज्ञ र स्थानीय नेताहरूको सहभागितामा कपुरकोट-५ रिममा आयोजित कार्यक्रममा सुन्तला, टिमुर, अदुवा, बोझो र कागतीजस्ता खेतीलाई प्रर्वद्धन गर्ने रणनीतिबारे बहस भएको हो ।

समूहका अध्यक्ष पुरभान पुनको अध्यक्षतामा भएको कार्यक्रममा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले भौगोलिक बनावट र मौसमीय परिस्थितिले कपुरकोट जडीबुटी र फलफूल खेतीको संभावना बोकेको पालिका भएको बताउनुभयो ।

उहाँले कपुरकोटलाई कृषिमा आत्मनिर्भर बनाउन व्यावसायिक खेतीमा जोडिन आग्रह गर्नुभयो । उपाध्यक्ष प्रकाश भण्डारीले किसानहरूलाई दीर्घकालीन लाभ दिलाउने गरी खेती प्रणालीमा सुधार गर्न आवश्यक रहेको भन्दै सरकारी सहयोग र योजनाको आवश्यकता औंल्याउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वलीले जडीबुटी र फलफूल खेतीलाई गाउँपालिकाको नीति र बजेटमार्फत प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा किसानहरूले अनुभव आदान-प्रदान गर्दै जडीबुटी र फलफूल खेतीको व्यावसायिक संभावनाबारे बताएका थिए ।

कार्यक्रममा बनस्पति अनुसन्धान केन्द्र कपुरकोटका प्रमुख डा. मित्रलाल पाठकले कपुरकोटको भौगोलिक र जलवायु अवस्था जडीबुटी खेतीका लागि अत्यन्त उपयुक्त रहेको बताउनुभयो । उहाँले नयाँ अनुसन्धान र प्रविधि प्रयोग गरेर किसानलाई उत्पादनमा प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुुभयो । कपुरकोट क्षेत्रमा केशर खेतीको संभावना रहेको पनि उहाँको भनाई छ ।

अदुवावाली अनुसन्धान केन्द्रका संयोजक डा. घनश्याम भण्डारीले अदुवा खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्न योजना बनाउनुपर्ने सुझाव दिनुभयो । उहाँले अदुवा निर्यातका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारको पहुँचसमेत सुनिश्चित गर्न आवश्यक रहेको बताउनुभयो ।

कपुरकोट गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष होमराज खड्काले जडीबुटी र फलफूल खेतीको विकासले वडाको आर्थिक तथा सामाजिक उन्नतिमा ठूलो योगदान दिन सक्ने बताउनुभयो ।

उहाँले किसानहरूको सशक्तीकरणका लागि वडा कार्यालयबाट आवश्यक सहयोग गर्न सकिने बताउनुभयो । वडाध्यक्ष खड्काले जडीबुटी खेतीका सम्भावना अध्ययन गर्न आगामी दिनमा वडास्तरमा थप पहल गरिने र किसानलाई सहजीकरणका लागि विशेष बजेटसमेत विनियोजन गरिने बताउनुभयो ।

जीवन ज्योति नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक भुपाल साहुले कृषि पेशा सम्मानित पेशा हुन नसक्दा कृषिमा व्यावसायिकता सोचे अनुरुप हुन नसकेको बताउनुभयो । उहाँले विद्यालयमा समेत कृषि विषय पढ्ने विद्यार्थीको अभाव हुन थालेको बताउनुभयो ।

साना किसान कृषि सहकारी संस्थाका प्रवन्धक जीतप्रसाद आचार्यले जडीबुटी र फलफूल खेतीले साना किसानको जीवनस्तर सुधार्न भूमिका खेल्ने बताउनुभयो । कपुरकोट कृषि उपज बजार केन्द्रका अध्यक्ष तिलक शर्माले जडीबुटी र फलफूल खेतीका उत्पादनलाई उचित मूल्यमा बिक्री गर्ने संरचना विकास गर्न हाटबजारलाई थप प्रभावकारी बनाउनुपर्ने बताउनुभयो ।

समुहका अध्यक्ष पुरभान पुनले समुहमा २१ जना किसान आवद्ध भएको बताउनुभयो । उहाँले समुहमा आवद्ध टिमले छुट्टाछुट्टै तरकारी, बिउजिन उत्पादन गर्ने गरेकोे बताउनुभयो । कार्यक्रमको सहजीकरण अशोक बुढाले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर १३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस