२०८१ मङ्सिर २२ गते शनिवार

तुलसीपुरको कृषि र पशु सेवा शाखा आफ्नै भवनमा सर्ने


दाङ, ११ मंसिर । तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखा र पशु सेवा शाखा कार्यालय सर्ने भएको छ । वडा नम्बर ६ मा रहेको दुवै कार्यालय तुलसीपुर-९ दोघरेमा सर्ने भएका हुन् ।

आउँदो शुक्रबार (मंसिर १४ गते) दुवै कार्यालय सार्ने गरी तयारी भइरहेको कृषि शाखा प्रमुख धनराज गौतमले जानकारी दिनुभयो । दुवै कार्यालय अहिले भाडाको घरमा संचालित छन् ।

अहिले मासिक ३० हजार भाडामा खर्च हुने गरेको छ । अब आफ्नै कार्यालयमा सरेपछि भाडामा खर्च हुने रकम वचत हुने र सेवाग्राहीलाई पनि सहजता हुने उहाँले बताउनुभयो ।

दोघरेमा रहेको भवनको निर्माण कार्य र रंगरोगनको काम पूरा भइसकेकोले अब लगत्तै कार्यालय सर्ने वडा नम्बर ९ वडाअध्यक्ष घनश्याम ढकालले जानकारी दिनुभयो ।

उहाँका अनुसार कृषि र पशु शाखा कार्यालय व्यवस्थापनका लागि वडा नम्बर ९ को कार्यालयले मात्रै १७ लाख बजेट व्यवस्थापन गरेको हो ।

कार्यालय व्यवस्थानमा वडाले बजेट व्यवस्थापन गरेपछि उपमहानगरपालिकाले रकम थप गरेर निर्माण कार्य पुरा भएको अध्यक्ष ढकालले बताउनुभयो । अधुरो रहेको भवन भ्याटसहित ३४ लाख ९९ हजार ८०६ मा निर्माण पूरा गरिएको हो । भवन गत आर्थिक वर्षको असार १६ मै निर्माण पूरा भएको हो ।

प्रकाशित मिति : २०८१ मङ्सिर ११ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस