कपुरकोट, २७ कार्तिक । सल्यानको कपुरकोट हाटबजारमा आज तरकारीको भाउ सामान्यले घटबढ भएको छ । अघिल्लो हाटबजारको तुलनामा आज तरकारीको भाउ घटबढ भएको हो । आज टमाटर, फूलगोपी, अकबरे खुर्सानी, सुन्तला लगायतको भाउ बढेको छ भने राज्मा सिमी, बन्दागोपी, केराउ, चुच्चेकरेला लगायतको भाउ घटेको छ ।
कृषि उपज बजार केन्द्र कपुरकोटले सार्वजनिक गरेको मूल्य सूचि अनुसार आज टमाटर प्रतिकेजी ७५ रुपैयासम्म पुगेको छ । अघिल्लो हाटबजार २३ गते शुक्रबार प्रतिकेजी ५५ रुपैँयासम्ममा बिक्रि भएको टमाटर आज ७० देखि ७५ सम्ममा कारोबार भएको छ ।
यसैगरी फूलगोपीको भाउ पनि अघिल्लो हाटबजारभन्दा बढेको छ । फूलगोपी अघिल्लो हाटबजार शुक्रबार प्रतिकेजी ४० देखि ४५ रुपैँयामा कारोबार भएकोमा आज ५० देखि ५५ रुपैँयामा कारोबार भएको छ ।
कपुरकोट हाटबजारमा आज अकबरे खुर्सानीको मूल्य पनि बढेको छ । अघिल्लो हाटबजारमा प्रतिकेजी ११० देखि ११५ रुपैँयामा कारोबार भएको अकबरे खुर्सानी आज १३० देखि १३५ रुपैँयामा कारोबार भएको छ ।
यस्तै सुन्तलाको भाउ पनि बढेको छ । अघिल्लो हाटबजारमा प्रतिकेजी ३५ देखि ४० रुपैँयामा कारोबार भएको सुन्तलाको भाउ आज ५० देखि ५५ रुपैँयासम्म पुगेको छ । यस्तै नयाँ अदुवाको मूल्य पनि सामान्यले बढेको छ । नयाँ अदुवा अघिल्लो हाटबजारमा ५० रुपैँया प्रतिकेजी बिक्रि भएको आज ५५ रुपैँयामा कारोबार भएको छ ।
राज्मा सीमीको भाउ भने घटेको छ । अघिल्लो हाटबजारमा प्रतिकेजी १०५ रुपैँयासम्ममा कारोबार भएको राज्मा सीमी आज १०० रुपैँयामा कारोबार भएको कृर्षि उपज बजार कपुरकोटले जनाएको छ ।
यस्तै बन्दागोपीको भाउ भने घटेको छ । शुक्रबारको हाटबजारमा बन्दागोपी प्रतिकेजी ४० देखि ४५ रुपैँयासम्ममा कारोबार भएकोमा आज ३५ देखि ४० रुपैयामा कारोबार भएको कृषि उपज बजार केन्द्र कपुरकोटका अध्यक्ष तिलक शर्माले जानकारी दिनुभयो ।
यसैगरी केराउको मूल्य पनि घटेको छ । केराउ अघिल्लो हाटबजारमा प्रतिकेजी १५५ रुपैँयामा कारोबार भएकोमा आज १४० रुपैँयामा कारोबार भएको छ । यस्तै चुच्चे करेला पनि आज अघिल्लो हाटबजारभन्दा १० रुपैँया कममा कारोबार भएको छ । अघिल्लो हाटबजार शुक्रबार प्रतिकेजी ३० रुपैँयामा कारोबार भएको चुच्चे करेला आज २० रुपैँयामा कारोबार भएको छ ।
मसिनो खुर्सानी, मूला, सीमी, स्थानीय काँक्रो, कागती, तिते करेला, अमीला भने अघिल्लो हाटबजारकै मूल्यमै कारोबार भएको छ । मसिनो खुर्सानी आज प्रतिकेजी ५० देखि ५५ रुपैँयाले कारोबार भएको छ । यस्तै मुला प्रतिकेजी २८ रुपैँया, सीमी ४५ देखि ५० रुपैँया, स्थानीय काँक्रो ४० देखि ४५ रुपैँया, कागती ४५, तिते करेला ५०, अमिला १० रुपैँया प्रतिकेजीमा बिक्रि भएको छ ।
कपुरकोट हाटबजारमा कपुरकोट गाउँपालिकासहित छिमेकी जिल्ला रोल्पाका किसानले समेत तरकारी बिक्रि गर्ने गरेका छन् । कपुरकोटको तरकारी देशका प्रमुख सहरहरुमा पुग्ने गरेको छ । कपुरकोट र आसपासका किसानले उत्पादन गरेको तरकारी दाङ, नेपालगञ्ज, बुटवल, नारायणढ लगायतका सहरमा पुग्ने गरेको छ ।
सल्यान र रोल्पा पहाडी क्षेत्रमा पर्ने भएका कारणले पनि सिंचाई सुविधा कम हुने र हिउँदमा भन्दा बढी वर्षाको समयमा बढी तरकारी उत्पादन हुने गरेको केन्द्रका अध्यक्ष शर्माले बताउनुभयो ।