२०८१ मङ्सिर २३ गते आइतवार

मालेडाँडामा श्रीमणी आचार्यको शालिक अनावरण

दाङ, ८ असार । दंगाली कम्युनिष्ट नेता स्व. श्रीमणी आचार्यको शालिक अनावरण गरिएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाँडा स्थित निर्माण स्थापना गरिएको आचार्यको शालिक शनिबार अनावरण गरिएको हो । आचार्यको शालिक लुम्बिनी प्रदेशका प्रथम मूख्यमन्त्री शंकर पोखरेलले गर्नुभएको हो ।

नेकपा एमालको महासचिव समेत रहेका प्रथम मूख्यमन्त्री पोखरेलले स्वर्गिय आचार्यले शैक्षिक तथा बाम आन्दोलनमा खेलेको भूमिका अतुलनिय भएको बताउनुभयो । उहाँले स्वर्गिय आचार्यले राजनैतिक र सामाजिक क्षेत्रमा गरेको योगदानको सबैले अनुसरण गर्नुपर्ने बताउनुभयो ।

महासचिव पोखरेलले टरिगाउँ एयरपोर्टको बारेमा बाहिर गरिने टिकाटिप्पणीको खण्डन समेत गर्नुभयो । उहाँले शंकर पोखरेलकै कारण टरिगाउँ एयरपोर्ट बन्न नसकेको भनेर प्रचार गरिएकोप्रति दुख व्यक्त गर्नुभयो ।

तस्बिर : झग्गु भण्डारी

उहाँले आफुले केपि ओली प्रधानमन्त्री हुँदा नै टरिगाउँ विमानस्थलका लागि बजेट छुट्याउन लगाएको बताउनुभयो । बजेट बिनियोजन सरकार छोटो समयमै विघटन हुँदा बजेट कार्यान्वयन हुन नसकेको उहाँले बताउनुभयो ।

महासचिव पोखरेलले टरिगाउँ विमानस्थलको विकल्प खोज्न नहुने बताउनुभयो । उहाँले उत्तर-दक्षिणको धावनमार्ग भएपनि विमानस्थल नियमित हवाई उडान हुने गरी संचालन ल्याउन सकिने बताउनुभयो ।

तस्बिर : झग्गु भण्डारी

उहाँले घोराही-तुलसीपुर सडक चारलेनकै निर्माण गर्ने गरी प्रक्रिया अघि बढेको बताउनुभयो । कतै टु लेन, कतै चार लेन वैज्ञानिक नभएकाले घोराहीको कुइरेपानीदेखि तुलसीपुरसम्म चार लेन नै निर्माण हुने गरी टेन्डरको तयारी रहेको बताउनुभयो ।

कार्यक्रममा प्रतिनिधि सभा सदस्य दिपक गिरीले स्वर्गिय आचार्यलाई राजनैतिक भन्दा पनि सामाजिक व्यक्तित्वको रुपमा धेरैले चिन्ने बताउनुभयो । उहाँले तुलसीपुर र समग्र दाङको विकासका लागि सबैले साझा संकल्प गर्नुपर्ने बताउनुभयो ।

यस्तै निवर्तमान लुम्बिनी प्रदेशका सांसद शंकर गिरीले स्वर्गिय आचार्य र आफ्नो राजनैतिक विचार फरक भएपनि संगै मिलेर काम गरेको स्मरण गर्नुभयो । कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान मेयर घनश्याम पाण्डे लगायतले दाङको विकासका लागि साझा धारणा बन्नुपर्ने बताउनुभयो ।

शलिक निर्माण समितिका अध्यक्ष घमण्ड बहादुर मल्लको अध्यक्षतामा शालिक अनावरण कार्यक्रम भएको हो । २०५१ सालमा मध्यावधि निर्वाचनको प्रचार प्रसारको क्रममा दाङको बिजौरीमा भएको गोलिकाण्डमा गोली लागेका आचार्यको क्यान्सर रोगका कारण २०६४ साल पुसको ३ गतेका दिन निधन भएको हो ।

स्वर्गिय आचार्यको योगदानलाई सम्मान गरी वडा नम्बर ११ को पहलमा विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा शालिक निर्माण गरिएको वडा अध्यक्ष मान बहादुर रावतले जानकारी दिनुभयो । शालिक निर्माण गरिएको परिसरलाई पार्क निर्माण गरी पर्यटकिय स्थलका रुपमा विकास गर्न वडाले पहल गर्ने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०८१ असार ९ गते शनिवार
प्रतिक्रिया दिनुहोस