२०८१ मङ्सिर २३ गते आइतवार

प्रतिष्ठानबाट ३४ हजार बढिले पाए विमा सेवा

दाङ, २९ बैशाख । दाङमा नेपाल सरकारको स्वास्थ्य सेवा विमा कार्यक्रमबाट सेवा लिनेहरुको संख्या बढ्दो रहेको छ । विमा कार्यक्रम लागु भएका स्वास्थ्य संस्थाहरुमा विरामिले सेवा प्राप्त गर्दै आएका छन् । 

स्वास्थ्य विमा कार्यक्रम लागु भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीवाट वितेको ९ महीनामा ३४ हजार बढि नागरिक लाभान्वित भएका छन् । प्रतिष्ठानका कायम मुकायम निर्देशक डा. रमेश कडेलले गएको साउनदेखी चैतसम्म ३४ हजार ४ सय ४३ जनाले विमाबाट सेवा पाएको जानकारी दिनुभयो । उहाँले दैनिक २ सय जनाले विमाबाट सेवा लिइरहेको बताउनुभयो । 

सर्वसाधारणले स्वास्थ्य विमाबाट सेवा प्राप्त गरेपनि सरकारको विमा वोर्डले समयमै विमावाफत अस्पतालले दावि गरेको करोडौ रकम नदिएपछि सेवालाई थप प्रभावकारी बनाउन समस्या सिर्जना भएको छ । ठुलो रकम विमा वोर्डले भुक्तानि नगरेको कारण विमाबाट हुने स्वास्थ्य सेवा वन्द गर्ने अवस्थामा आइपुगेको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानले दिएको जानकारी अनुसार अझै पनि ७ करोड ९८ लाख रुपैयाँ विमा वाफतको रकम प्रतिष्ठानमा प्राप्त हुन सकेको छैन् । प्रतिष्ठानका रजिष्ट्रार प्राध्यापक श्याम लम्सालले विमा कार्यक्रमको करोडौ रकम विमा वोर्डबाट भुक्तानि नहुँदा प्रतिष्ठानको उपचार सेवामा निकै ठुलो समस्या आइलागेको बताउनु भयो । पछिल्लो पटक चौतर्फी दवावका बावजुद केही रकम भुक्तानि भएपनि करोडौको ठुलो रकम भुक्तानि नहुदा विमा कार्यक्रमवाट उपचार सेवा दिन गाह्रो हुदै गएको उहाँले बताउनु भयो । 

विमा कार्यक्रमवाट साउनमा ४ हजार ४६ जना, भदौमा ४ हजार १ सय ४७ जना, असोजमा ४ हजार ४ सय २४ जना, कार्तिकमा २ हजार ८ सय ८० जना, मंंसिरमा ३ हजार ९ सय ५२ जनाले सेवा पाएका छन् । यस्तैपुसमा ४ हजार ९० जना, माघमा ३ हजार १ सय ९२ जना, फागुनमा ३ हजार ८ सय १३ जना र चैतमा ३ हजार ८ सय ९९ जनाले विमावाट सेवा लिएको प्रतिष्ठानका विमा फोकल पर्सन दुर्गा श्रेष्ठले बताउनुभयो ।

यसैविच विमा कार्यक्रमबाट सेवा लिने विरामीहरुको सेवा लिने दिन नै विमावाफतको रकम दावि हुने भएको छ । विमाकी फोकल पर्सन दुर्गा श्रेष्ठले जेष्ठ १ गतेदेखी आजको आजै विरामीको विमाको रकम दावि गरी सक्नुपर्ने प्राबधान भएकाले सो अनुसार काम भइरहेको बताउनु भयो ।

प्रकाशित मिति : २०८१ बैशाख २९ गते शनिवार
प्रतिक्रिया दिनुहोस