२०८१ जेष्ठ ६ गते आइतवार

दाङमा ट्रकको ठक्करबाट एकजनाको मृत्यु

दाङ, २३ बैशाख । दाङमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । तुलसीपुरको अटोभिलेज नजिकै ट्रकको ठक्करबाट तुलसीपुर-९ बेलुवाका ३८ वर्षीय सेफ अलि खाँको मृत्यु भएको हो ।

तुलसीपुरको अटोभिलेजबाट बसपार्कतर्फ आउदै गरेको रा १ क ५९६ नम्बरको ट्रकले अटोभिलेज नजिकै आफ्नै ईलेक्ट्रिक पसल अगाडी बस्नुभएका खाँलाई आइतबार (आज) बिहान पौने ११ बजेको समयमा ठक्कर दिएको हो ।

दुर्घटनामा परी गम्भिर घाइते भएका खाँलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पतालमा लगिएलगत्तै चिकित्सकले मृत घोषणा गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्रकसहित चालक तुलसीपुर-१३ का गंगाराम सुनारलाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस