२०८१ मङ्सिर २३ गते आइतवार

तुलसीपुरमा ‘माटो परिक्षण शिविर’ गरिदै

तुलसीपुर, २१ बैशाख । तुलसीपुरमा किसानको खेतबारीको माटो परिक्षण गर्न थालिएको छ । जथाभावी रासायनिक मलको प्रयोग बढ्दै गएकाले माटो परिक्षण गरी आवश्यक प्राविधिक ज्ञान दिन माटो परिक्षण गर्न लागिएको हो ।

कृषि ज्ञान केन्द्र दाङको प्राविधिक सहयोगमा तुलसीपुर उपमहानगरपालिकाको कृषि शाखाले किसानको खेतबारीको माटो परिक्षण गर्न थालेको हो ।

माटो परिक्षणका लागि यहि बैशाख २३, २४ र २५ गते विभिन्न ठाउँमा ‘माटो परिक्षण शिविर’ आयोजना गरिएको कृषि शाखा प्रमुख धनराज गौतमले जानकारी दिनुभयो । शिविरमा माटो परिक्षण निशुल्क गरिने उहाँले बताउनुभयो ।

बैशाख २३ गते वडा नम्बर २ को कार्यालय, २४ गते कृषि शाखामै र २५ गते १४ नम्बर वडा कार्यालयमा शिविरको आयोजना गरिएकोले पायक पर्ने किसानलाई माटो परिक्षण गराउन कृषि शाखाले अनुरोध गरेको छ ।

शिविरमा ल्याउने नमुना माटोको बारेमा कृषि शाखाले विभिन्न सहकारीमार्फत किसानलाई अभिमुखिकरण गरेको छ । यसैक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको समन्वयमा शुक्रबार तुलसीपुर-७ गणेशपुरमा किसानलाई अभिमुखिकरण गरिएको छ ।

त्यस अवसरमा किसानलाई शिविरमा नमुना माटो लैजाँदा ध्यान दिनुपर्ने कुराको जानकारी दिएको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८१ बैशाख २१ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस