
दाङ, २६ चैत । दाङको तुलसीपुर उपमहानगरपालिकाले फोहोरबाट कम्पोष्ट मल उत्पादन गरेको छ । उपमहानगरपालिकाले वडा नम्बर ६ मा रहेको फोहोरमैला प्रशोधन केन्द्रबाट ‘तुलसी कम्पोष्ट मल’ उत्पादन गरेको हो ।
प्रशोधन केन्द्रमा दुई छुट्टाछुटै मेसिनबाट कम्पोष्ट मल उत्पादन भइरहेको तुलसीपुर उपमहानगरपालिका सरसफाई व्यवस्थापन शाखा प्रमुख माधव पौडेलले बताउनुभयो । मलको गुणस्तर मापन भइसकेकोले अब बजारमा पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो ।
मल विभिन्न तौलमा प्योकेजिङ भएको छ । केहि दिनमै मूल्य निर्धारण गरी किसानलाई मल बिक्रि गर्ने उहाँले बताउनुभयो । खेर गइरहेको फोहोरलाई प्रयोग गरी कम्पोष्ट मल उत्पादन गरिएको हो ।
तुलसीपुरमा दैनिक ९० टन फोहोर उत्पादन हुने गरेको छ । तर प्रतिदिन २५ टन फोहोर मात्रै कम्पोष्ट मलका लागि प्रयोग हुने गरेको उहाँले बताउनुभयो ।
अहिले दैनिक करिब २ सय केजी कम्पोष्ट मल उत्पादन भइरहेको छ । कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि आम नागरिकलाई आग्रह समेत गरिएको वातावरण तथा विपत व्यवस्थापन समितिका संयोजक दुजमान भण्डारीले बताउनुभयो ।
उहाँले कुहिने फोहोरबाट मल उत्पादन गर्न सकिने र नकुहिने फोहोरबाट विभिन्न सामग्री बनाउन सकिने भएकाले पनि फोहोर छुट्याएर व्यवस्थापन गर्न नागरिकलाई आग्रह गरिएको बताउनुभयो ।
तर अधिकांश फोहोर नछुट्याएको आउने गरेको मल उत्पादन कारखानाका कर्मचारी कृष्ण चौधरीले बताउनुभयो । फोहोर छुट्याएर नआउँदा जनशक्ति र समयको खर्च बढी हुने गरेको उहाँको भनाई छ ।
यसैबिच तुलसीपुर उपमहानगरपालिका प्रमुख टिकाराम खड्काले मलको बजारीकरणका छिट्टै निणर्य गरेर अघि बढ्ने बताउनुभयो । उहाँले रासायनिक मलको विस्थापन गर्नका लागि पनि कम्पोष्ट मल उत्पादन गरिएको उहाँको भनाई छ ।
मल उत्पादनमा प्राविधिक सहयोग गरिरहेको ब्लु वेस्ट भ्युका कार्यकारी निर्देशक नवीनविकास महर्जन बस्नेतले उत्पादन गरिएको मलको ल्याब परीक्षण गुणस्तर मापन गरिएको बताउनुभयो ।