दाङ, १९ फागुन । महिलालाई नेतृत्वमा पुर्याउन तुलसीपुरमा १५ वर्षअघि २०६५ सालमा शान्ति नमुना महिला संसद संचालन भयो । संसदमा गरिने सम्पूणर् प्रकारका काम, कारबाही नुमना संसदमा अभ्यास हुँदा कतिपय महिला अहिले विभिन्न नेतृत्वमा समेत पुगेका छन् ।
संविधानले नेतृत्वमा महिला सहभागीता बढाउन महिलाको अनिवार्यता गरेको ठाउँमा महिला नेतृत्व त आए तर अझै पनि सोचे अनुरुप महिला नेतृत्व आउन नसकिरहेको अवस्थामा तुलसीपुरमा फेरि संसदको झल्को दिने गरी शान्ति महिला नमुना संसद संचालन गरिन लागेको छ ।
महिला नेतृत्वमा आउनलाई सहजताका लागि अहिले फेरि सोहि शान्ति नमुना महिला संसद संचालन गर्न लागिएको नवजागरण महिला तथा बाल संरक्षण केन्द्र (न्यूसीपिसी)का अध्यक्ष नवराज लामिछानेले बताउनुभयो ।
‘हरेक ठाउँमा महिलाको अर्थपूणर् सहभागीता बढाउनका लागि १५ वर्षअघि गठन भएको शान्ति नमुना महिला संसद फेरि संचालन गर्न लागिएको छ ।’ उहाँले भन्नुभयो-‘यसअघि संचालन गरिएको शान्ति महिला नमुना संसदबाट उत्पादित धेरै महिला नै अहिले नेतृत्वमा आउनुभएको छ ।’
शनिबारदेखि शान्ति महिला नमुना संसद संचालनको प्रक्रिया अघि बढेको हो । तुलसीपुरको ड्रिम्स बेङ्क्वीटमा शान्ति महिला नमुना संसद संचालनको अभ्यास शुरु भएको हो । संसदीय अभ्यासमा महिलालाई नेतृत्व विकास बढाउनका लागि शान्ति महिला नमुना संसदको अभ्यास फेरि शुरु हुन लागेको हो । त्यस अवसरमा राष्ट्रिय सभाका निवर्तमान सदस्य कोमल वलीले संसद संचालनको पक्रिया र संसदीय नियमका बारेमा जानकारी दिँदै आगामी निर्वाचनमा सांसदको उमेदवार बन्ने गरी आफुलाई विकास गर्न आग्रह गर्नुभयो ।
उहाँले संविधानमा बाध्यकारी व्यवस्था भएकै कारण सिमित महिलामात्रै नेतृत्वमा आएको तर अझै पनि सोच अनुरुप महिला नेतृत्वमा आउन नसकेको बताउनुभयो । निर्वाचनमा सहभागी महिला मतदाता धेरै भएपनि महिला नेतृत्वमा आउनेको संख्या न्यून रहेको उहाँको भनाई छ । महिला कोटामा मात्रै भन्दा पनि खुल्ला प्रतिष्पर्धामार्फत नेतृत्वमा आउने साहस राख्न महिला नेतृत्वलाई आग्रह गर्नुभएको छ ।
यस्तै तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले शान्ति महिला संसदले सक्षम महिला नेतृत्व उत्पादन गर्ने बताउनुभयो । उहाँले आगामी दिनमा नेतृत्वमा महिलाको सहभागीता बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
शान्ति महिला नमुना सांसदमा तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका महिला जनप्रतिनिधि, न्यायिक समिति सदस्य, निवर्तमान जनप्रतिनिधि र महिला अधिकारकर्मीको सहभागीता रहेको छ । शनिबार सभामूखको भूमिका सीमा न्यौपानेले निर्वाह गर्नुभएको थियो । तर उहाँको स्वास्थ्यमा समस्या देखिएपछि सभामूखको सहजीकरण महिला अधिकारकर्मी शुष्मा गिरीले गर्नुभएको हो ।
शनिबारको सभामा अध्यक्षको प्रतिवेदन, शान्ति महिला नमुना संसदको अवधारणा, विषयगत सवालबारे जानकारी , स्थानीयस्तरमा योजना छनौट प्रक्रियामा महिला सहभागीताको अवस्था, शान्ति महिला नमुना संसदको कार्यसम्पादबारे जानकारी र संसदको निर्वाचन लगायतका कार्यतालिका रहेको थियो ।
तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा न्यूसीपीसीले नमुना संसद संचालन गर्न लागेको हो । कार्यक्रमको सहजीकरण केन्द्रका महासचिव नानुमैया केसीले गर्नुभएको हो ।
सभामुखमा न्यौपाने चयन
यसैबिच शान्ति महिला नमुना संसदको सभामुखमा सीमा न्यौपानेलाई चयन गरेको छ । नमुना संसदको उपसभामुखमा सुष्मा गिरी,महासचिवमा दिपतीशिखा चौधरी र सचिवमा शर्मिला तिवारी चयन हुनुभएको छ । संसदको प्रवक्तामा नानीमैया केसीलाई चयन गरिएको छ ।
नमुना संसदमा तुलसीपुर उपहानगरपालिकाका १९ वटा वडाहरुबाट दुई जनाको दरले ३८ जना महिला जनप्रतिनिधि सांसद सदस्य रहने व्यवस्था छ । विज्ञताका आधारमा २० जना र १४ जना पर्यवेक्षक, मर्यादापालक, विज्ञहरुको सहभागितामा संसदिय अभ्यास सञ्चालन हुनेछ ।
सभामुख सहित ५८ जनाले संचालन गर्ने संसदमा सातवटा विभिन्न विषयगत समितिहरु रहेका छन् । सबै बिषयगत समितहरुमा दुई जना सदस्य रहने गरि समितिको संयोजक पनि चयन गरिएको छ । जसअनुसार कानून तथा सामाजिक न्याय समितिको संयोजक युवा करारा,शान्ति तथा मानव अधिकार संरक्षण समिति संयोजकमा मधुमति सुनार चयन हुनुभएको छ ।
यस्तै आर्थिक समिति संयोजक कल्पना चौधरी, राजनैतिक समिति संयोजक सरिता देबकोटा,सांस्कृतिक समिति संयोजक छबि खराल,सूचना,सञ्चार,समन्वय र साझेदारी विकास समिति संयोजक लालमति भण्डारी,मानव संसाधन विकास र स्रोत व्यवस्थापन समिति संयोजकमा लोकमाया पुनलाई चयन गरिएको हो ।
यस्तै नमुना संसदमा १७ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । समितिको सल्लाहकारहरुमा नबराज लामिछाने,कोमल वली,अनारकली मिया,स्यानी चौधरी,हुमा डिसी,माया आचार्य रहनुभएको छ । यस्तै दुर्गालाल केसी,सावित्रा विक,लक्ष्मी आचार्य,साजिदा सिद्दिकी,बसुन्धरा गौतम,नारायणी रजौरे,लिला शाह, माया श्रेष्ठ,देबिका न्यौपाने,बिष्णु कुमारी आचार्य र शुसिला पौडेल चयन हुनुभएको छ ।