२०८१ बैशाख २३ गते आइतवार

संगठितरुपमा बचत गर्न सिक्दै आमाहरु

तुलसीपुर, ११ माघ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ थर्कुडाँडाकी २७ वर्षिय गमला परियार गृहणी हुनुहुन्छ ।

उहाँले पछिल्लो समय मासिक रुपमा १ सय वचत गर्नुहुन्छ । दलित महिला संघ दाङले महिलालाई संगठित गरेर वचत गर्न सिकाएपछि उहाँले वचत गर्न थाल्नुभएको हो ।

उहाँ थर्कुडाँडा दलित महिला समुहको अध्यक्ष पनि हुनुहुन्छ । अहिले समुहमा उहाँसहित २० जनाले सामुहिक रुपमा वचत गर्न थालेका छन् ।

उहाँको समुहमा अहिले ८ हजार रकम पुगिसकेको छ । गत कार्तिक १ बाट संगठित भएर वचत गर्न थालेको उहाँले बताउनुभयो ।

‘हामी संगठित भएर वचत गर्न थालेका छौँ ।’ उहाँले भन्नुभयो-‘वचत गर्न थालेपछि अहिले समस्या परेको बेलामा आवश्यक कर्जा पनि लिने गरेका छौँ ।’

संगठित रुपमा लागेपछि वचत मात्रै नभएर निर्धक्क भएर बोल्न पनि सिक्न थालेको उहाँले बताउनुभयो । ‘धेरै मानिस भएको ठाउँमा बोल्न डर लाग्थ्यो ।’ उहाँले भन्नुभयो-‘अहिले धेरै जनाको बिचमा बोल्न केहि सहज भएको छ ।’

उहाँले समुहले वचत गर्नमात्रै नभएर नेतृत्व विकास पनि सिकाएको बताउनुभयो ।

बालकुमारी बिक सिर्जनशिल दलित महिला समुहको अध्यक्ष हुनुहुन्छ । उहाँले पनि समुहमा लागेपछि वचत गर्न र सार्वजनिक ठाउँमा बोल्न सिक्न थालेको बताउनुभयो ।

‘थोरै भएपनि हामीहरुले वचत गर्न थालेका छौँ ।’ उहाँले भन्नुभयो -‘कमाउने मात्रै होइन्, वचत पनि गर्नुपर्छ भन्ने समुहमा लागेपछि सिकेका छौँ ।’

उहाँले वचत गरेको रकम समुहबाट अप्ठेरो परेको बेलामा निकाल्न सकिने भएकाले पनि सहज भएको बताउनुभयो ।

‘व्यक्तिले थोरै रकम भएपनि समुहमा धेरै हुन्छ ।’ उहाँले भन्नुभयो-‘यसले सामुहिक रुपमा काम गर्दा सहज हुने रहेछ भन्ने पनि सिकेका छौँ ।’

सिर्जनशिल महिला समुहमा पनि करिब २० जना महिला आवद्ध भएका छन् । उनीहरुले मासिक १ सय वचत गर्ने गरेका छन् ।

महिलालाई आत्मनिर्भरताको बाटोमा लैजानका लागि वचत गर्न र व्यक्तित्व विकासका लागि समुह निर्माण गरेको दलित महिला संघ दाङका अध्यक्ष युवा कराराले बताउनुभयो ।

‘महिलाहरु आर्थिक तथा नेतृत्व विकासमा सक्षम बनुन् भन्ने उद्देश्यले समुह निर्माण गरी वचत गर्न सिकाएका छौँ ।’ उहाँले भन्नुभयो-‘आजको वचत भोलि ठुलो भएपछि त्यसले महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग पुग्नेछ ।’

दलित महिला संघका केन्द्रीय अध्यक्ष कला स्वणर्कारले दलित महिलाको आर्थिक तथा सामाजिक सशक्तिकरणका लागि दलित महिला संघको स्थापना भएको बताउनुभयो ।

उहाँले दलित समुदायका महिलालाई आत्मनिर्भरताको बाटोमा लैजान आवश्यक ज्ञान, सिप प्रदान गर्ने गरेको बताउनुभयो । यस्तै संस्थापक अध्यक्ष दुर्गा सोवले दलित महिला संघले आर्थिकसंगै नेतृत्व विकासमा सक्षम बन्न महिलालालाई आग्रह गर्नुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका कार्यपालिका सदस्य तथा वडा नम्बर ९ का सदस्य बसन्ता केसी महिलालाई आर्थिकरुपमा सक्षम बनाउन वडाले पनि आवश्यक सहयोग गर्ने बताउनुभयो ।

प्रकाशित मिति : २०८० माघ ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस