दाङ, १० पुस ।
सांसद तथा अर्थविज्ञ डा. स्वर्णीम वाग्लेल राजनैतिक नेतृत्वलाई ठुला करदाताले कब्जामा पार्ने गरेको बताउनुभएको छ । उहाँले राजनैतिक नेतृत्वलाई ठुला करदाताले कब्जामा पार्ने बेथितिको अन्त्य गर्नका लागि राष्ट्रिय स्वतन्त्र पाटीको उदय भएको बताउनुभयो ।
उहाँले ठुला करदाताले सरकारलाई कर तिर्नुभन्दा नेतालाई घुस दिँदा फाइदा लिने गरेको आरोप बताउनुभयो । ‘४० अर्बको कर तिनुपर्नेमा ४ अर्ब नेतालाई दिएपछि ३६ अर्ब फाइदा लिनेमा ठुला करदाता छन् ।’ उहाँले भन्नुभयोे-‘यसले गर्दा पनि राज्यलाई आर्थिक संकटको स्थिति आएको छ ।’
उहाँले पछिल्लो समय लगानी अनुत्पादक क्षेत्रमा हुँदा अर्थतन्त्र धरासय भएको बताउनुभयो । रिपोटर्स क्लब नेपाल लुम्बिनी प्रदेशले दाङको तुलसीपुरमा आयोजना गरेको व्यवसायीसंग अर्थ संवाद कार्यक्रममा डा.वाग्लेले पछिल्लो करिब १५ वर्षको अवधिमा घरजग्गामा लगानी उल्लेख्य भएको बताउनुभयो । बैंकबाट कर्जा लिएर घर जग्गामा लगानी गरिएकोले सम्पति चलायमान हुन नपाएको उहाँको भनाई छ । राष्ट्रिय स्वतन्त्र पाटीका उपाध्यक्ष समेत रहेका सांसद डा. वाग्लेले पछिल्लो समय देखिएको आर्थिक संकटबारे धेरै निराशा भइहाल्नुपर्ने नरहेको बताउनुभयो ।
अहिलेको अवस्थालाई पनि सुधार गर्न बेथिति रोक्नुपर्ने बताउनुभयो । पछिल्लो समय दक्ष जनशक्ति पलायन भइरहेकोमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । विश्वका युरोपियन मूलुकहरुमा पनि जनशक्ति पलायन भएको इतिहास रहेको भन्दै नेपालको स्थिति सधैँ अहिलेकोजस्तो नहुने बताउनुभयो ।