२०८० फाल्गुन २१ गते सोमवार

असल कर्म गर्नु नै धर्मको विशेषता हो : पाण्डे

तुलसीपुर, ९ पुस । तुलसीपुर उपमहानगरपालिकाका निवर्तमान प्रमुख घनश्याम पाण्डेले सकारात्मक कुरालाई विश्वासमा राख्नु नै असल धर्म रहेको बताउनुभयो । उहाँले असल र खराब बिचार छुट्याउनु नै हरेक धर्मको विशेषता भएको बताउनुभयो ।

उहाँले सबै धर्मको उद्देश्य असल विचार, असल व्यवहार, असल आहार र सत्मार्ग नै भएकाले सबैको उत्तिकै महत्व भएको बताउनुभयो । तुलसीपुर-५ बसपार्कमा रहेको सिलोआम मण्डलीमा क्रिश्चियन धर्मावलम्बीको पर्व क्रिसमस डेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले खराव विचार, आहार र व्यवहारले काम गर्दा कहिल्यै पनि सफलता प्राप्त गर्न नसकिने बताउँदै उहाँले पवित्र विचारले कार्य गर्नुपर्ने बताउनुभयो ।

सिलोआम मण्डलीका संस्थापक अध्यक्ष बिना बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका न्यायिक समितिका सदस्य लालमती भण्डारी, तुलसीपुर उपमहानगरपालिका – ५ का वडा सदस्य युवराज नेपाली, लक्ष्मी परियार लगायतले शुभकामना मन्तव्य व्यक्त राख्नुभएको हो । त्यस अवसरमा ४० जना अनाथ बालबालिकालाई चिसोबाट बच्न टोपी र ५ जना एकल महिलाहरूलाई दोसल्ला प्रदान गरिएको छ ।

प्रकाशित मिति : २०८० पुष ९ गते सोमवार
प्रतिक्रिया दिनुहोस