२०८० फाल्गुन २२ गते मङ्गलवार

आज पनि पश्चिमी क्षेत्रमा वर्षाको अनुमान

दाङ, १९ मंसिर । दाङसहित पश्चिम क्षेत्रमा आज पनि हल्कादेखि मध्यम वर्षाको अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मुलुकमा उत्तर प्रदेशको आसपास रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

अहिले लुम्बिनी र गण्डकी प्रदेशका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षा भइरहेको छ । साथै गण्डकी, कणर्ाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात भइरहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको छ ।

कोशी, मधेश, बागमती, लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली हुनुका साथै बाँकी भागको मौसम सफा रहने छ ।

आज राति कोसी प्रदेशलगायतका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

वर्षा र हिमपातसँगै देशभरको तापक्रम घट्ने क्रममा रहेकाले यसबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।

प्रकाशित मिति : २०८० मङ्सिर १९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस