दाङ, २२ कार्तिक । तिहारमा अत्याधिक प्रयोग हुने मिठाईमा रङको प्रयोग बढी भएको फेला परेको छ । तुलसीपुरका मिठाई उद्योगबाट बनाउने मिठाईमा रंगको प्रयोग बढी भएको देखिएको हो ।
मिठाईमा रङको प्रयोग मापदण्डभन्दा बढी भएको देखिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक राजेश चौधरीले बताउनुभयो । मिठाई बनाउन पाँच किलोमा बढीमा एक ग्राम रङ प्रयोग गर्न सकिनेमा त्यो भन्दा बढी प्रयोग गरेको भेटिएको उहाँले बताउनुभयो ।
मिठाईमा प्रयोग गरिएको रङले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने खाद्य निरिक्षक चौधरीले बताउनुभयो । अनुगमनको क्रममा रंगको प्रयोग मापदण्डभन्दा बढी भएको देखेपछि अबदेखि मापदण्डभित्रै रहेर प्रयोग गर्न अनुरोध गरिएको उहाँले बताउनुभयो ।
अरु समयको तुलनामा तिहारको समयमा मिठाई बढी खपत हुने भएकाले पनि अनुगमन गरिएको तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताउनुभयो ।
सोमबार गरिएको अनुगमनको क्रममा तुलसीपुर-७ मा रहेको वीरगञ्ज मिठाई तथा दालमोट उद्योगमा पनि सरसरफाईमा कमी देखिएको छ । त्यस्तै दुर्गा स्विट हाउसमा मिठाई उत्पादनका लागि आवश्यक न्यूनतम मापदण्ड पनि पालना नगरेको भेटेको उहाँले बताउनुभयो ।
अनुगमन टोलीले समस्या देखिएको दुर्गा स्विट हाउसमा पहिलो पटक सुधार गर्न सुझाव दिएको छ । अटेर गरेमा कार्बाही गर्ने चेतावनी दिएको प्रमुख शर्माले बताउनुभयो । यस्तै उद्योग सञ्चालनको अनुमति नलिई उद्योग सञ्चालन गरेको, मिठाई बनाउने ठाउँमा सरसफाईको कमी देखिएको छ ।
छ वटा मिठाई उद्योगमा अनुगमन गरिएकोमा तीनवटामा अत्याधिक समस्या देखिएको छ भने तीनवटामा सन्तोषजनक रहेको भेटिएको छ । तुलसीपुरको लक्ष्मी स्विट हाउस, सजना मिष्ठान भण्डार र लक्ष्मी नास्ता भण्डारमा मिठाई बनाउने ठाउँमा सन्तोषजनक देखिएको छ तर अरू तीन वटामा भने समस्या देखिएको हो ।