२०८२ बैशाख १० गते बुधवार

एमडिएमसमा दर्ता नभएका मोबाईल आजदेखि बन्द हुने, दर्ता भए/नभएको यसरी थाहा पाउने

दाङ, २० कार्तिक । आजदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू हुँदैछ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबारदेखि एमडिएमएस प्रणाली पूणर् रूपमा कार्यान्वयनमा ल्याउने बताएको हो ।

यो प्रणाली लागु भएपछि प्रणालीमा दर्ता नभएका फोनहरू क्रमश ब्लक हुने प्राधिकरणका अध्यक्ष पुरूषोत्तम खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमडिएमएस लागू भएसँगै अवैध वा गैरकानुनी रूपमा भित्र्याइका मोबाइलमा कुनै पनि सिमकार्ड चल्ने छैन् । ती फोनहरू ब्लक हुनेछन् ।

प्राधिकरणले गत कात्तिक ४ गते मात्रै एक सूचना जारी गर्दै १५ दिनभित्र सेवाग्राहीहरूलाई एमडिएमएसमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरू दर्ता गर्न भनेको थियो ।

सूचना जारी गरेको मितिबाट १५ दिनभित्र प्रणालीमा दर्ता नभएका मोबाइल ह्यान्डसेटहरूमा नियमानुसार मोबाइल दूरसञ्चार सेवा अवरुद्ध हुने समेत जनाएको छ ।

सोही अनुसार प्राधिकरणले आजदेखि एमडिएमएस लागू गर्न लागेको हो ।

प्राधिकरणका अध्यक्ष खनालका अनुसार सुरूमा ’हाइ रेन्ज’ का मोबाइल ह्यान्डसेटमा यो लागू हुनेछन् । यसमा एक लाखभन्दा महँगा फोनहरू पर्नेछन् ।

आज मात्रै ८ सयदेखि एक हजार ह्यान्डसेट ब्लक हुने देखिन्छ । विशेष हाइ रेन्जका मोबाइल जस्तै आइफोन, वान-प्लस, सामसङ कम्पनीका मोबाइल सेट पर्ने देखिन्छ ।

प्रणालीमा दर्ता नभएका ह्यान्डसेटहरू क्रमशः दैनिक रूपमा ब्लक गर्दै जाने उहाँले बताउनुभयो ।

प्राधिकरणले नेपाल भित्रिने हरेक मोबाइलको आइएमइआई नम्बर दर्ता गर्न अनिवार्य गरेको हो ।

वैध रूपमा अर्थात् सरकारलाई भन्सार तिरेर भित्र्याइएका फोनको आइएमइआई नम्बर प्राधिकरणमा दर्ता गरिएको हुन्छ । यस्ता फोन स्वतः एमडिएमएस प्रणालीमा पनि दर्ता हुन्छन् ।

आफ्नो फोन एमडिएमएसमा दर्ता भएको छ वा छैन भन्ने एमडिएमएसको आधिकारिक पोर्टल https://mdms.nta.gov.np/ मा गएर हेर्न सकिन्छ। यसका लागि आवश्यक मोबाइलको आइएमइआई नम्बर किप्याडमा गएर *#०६# डायल गरेर पत्ता लगाउन सकिन्छ।

अथवा ह्यानडसेट नयाँ छ भने त्यसको आइएमइआई नम्बर प्राधिकरणको वेबसाइट https://eir.nta.gov.np मा गएर दर्ता गर्न सकिन्छ।

प्रकाशित मिति : २०८० कार्तिक २० गते सोमवार
प्रतिक्रिया दिनुहोस