दाङ, २० कार्तिक । दाङमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मोटरसाइकलको ठक्करबाट लमही नगरपालिका वडा नम्बर ८ गणेशपुर निवासी ५५ वर्षीय भिमसेन थारुको मृत्यु भएको हो ।
मुगुबाट काठमाडौँ जाँदै गरेको बा ३३ प ३६३४ नम्बरको मोटरसाइकलले पूर्व-पश्चिम राजमार्ग अन्तर्गत लमही नगरपालिका-८ सतबरीयामा साइकल यात्रीलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी जनक बहादुर मल्लले जानकारी दिनुभयो ।
ठक्करबाट घाइते थारुको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस्तै, मोटरसाइकल चालक रसुवा कालिकास्थान नगरपालिका-५ निवासी २३ वर्षीय राजेश देवकोटा घाइते भएको प्रहरीले जनाएको छ । घाइते देवकोटलाई लमहीमा प्राथमिक उपचार गरेर थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।
मोटरसाइकलको पछाडि बसेका संखुवासभा पाँचखपन नगरपालिका-७ निवासी २३ वर्षीय सुदिप थापासमेत घाइते घाइते हुनुभएको छ । उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।