२०८१ जेष्ठ ५ गते शनिवार

दाङमा ‘भिएफएक्स सिनेमाज’ सिनेमा हल सञ्चालन

दाङ, २६ असोज । दाङमा शुक्रबारदेखि ‘भिएफएक्स सिनेमाज’ नामक जिल्लाकै पहिलो मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएको छ ।

दुई युवा व्यवसायी बिजय रावत र चेतन जंग रानाले करिब २० करोडको लागतमा हल सञ्चालनमा ल्याएका हुन् । दुईवटा अडिटोरियम रहेको हलमा जम्मा ४१२ (एउटामा १६५ र अर्कोमा २४७) सिट क्षमता छ ।

भिएफएक्स सिनेमाज प्रा.लि.अन्तर्गत सञ्चालनमा आएको हल घोराही उपमहानगरपालिका-८ सौंडीकुला चोकबाट करिब ४०० मिटर दक्षिणतिर अवस्थित रहेको छ। हल सञ्चालक विजय रावत र चेतन जंग रानाले संयुक्त रुपमा शुक्रबार बिहान साढे आठ बजेको शोमा नेपाली चलचित्र ‘परदेशी-२’ लाई स्क्रिनिङ गर्दै हलको औपचारिक शुभारम्भ गरे । रावत र रानाले हलको निर्माण ३ वर्षअघिदेखि सुरु गरेका थिए ।

जग्गासहित करिब २० करोडको लगानीमा निर्माण भएको हल कोरोना महामारी र आर्थिक मन्दीका कारण निर्माणमा ढिलाई भएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै हल सञ्चालक रावतले ‘अन्त सबैतिर थ्रिडीसहित सबै सिनेमा चल्ने हलहरू निर्माण भइसक्दा पनि दाङमा हालसम्म गुणस्तरीय हल थिएन,` भने, ‘त्यही तथ्यलाई मध्यनजर गर्दै दर्शकको चाहाना ध्यानमा राखेर हामीले मल्टिप्लेक्स सिनेमा हलमा लगानी गरेका हौं।’ उनले आफ्नो हलमा विदेशीभन्दा नेपाली फिल्मलाई प्राथमिकता दिने पनि बताए ।

‘ फिल्म नै चलेको छैन भने त माया-प्रेमले मात्र हल चल्दैन । राम्रो चलेको नेपाली फिल्मलाई पीडित हुने अवस्था आउन दिने छैनौं,’ रावतले प्रतिवद्धता व्यक्त गरे । कार्यक्रम भिएफएक्स सिनेमाजको योजना सुनाउँदै अर्का सञ्चालक रानाले भने, “ हामीले भिएफएक्स ब्रान्डलाई मल्टिप्लेक्स चेनको रूपमा देशव्यापी विस्तार गर्दैछौँ ।” दाङ पछि काठमाडौँमा हल खोलिने र त्यस पछि देशैभर विस्तार गरिने योजना रहेको उनले बताए ।

स्मरण रहोस् दाङमा यसअघि गणेश हल, मनकाँशी हल र स्वर्गद्वारी हल गरि तीनवटा हल सञ्चालनमा छन् । जिल्लाभर भएका ९ वटा हलमध्ये कोरोना कहर पछि भने अन्य ६ वटा हल सञ्चालनमा आउन सकेनन् । जिल्ला मल्टिप्लेक्स सिनेमा हल सञ्चालनमा आएसंगै फेरि दाङ नेपाली सिनेमा व्यापारको एक प्रमुख बजार हुनसक्ने धेरैको आकलन रहेको छ।

प्रकाशित मिति : २०८० असोज २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस