
दाङ, २२ असोज ।
सवारी दुर्घटना बढ्दै गएपछि राप्ती राजमार्गमा ‘टाइम कार्ड’ लागु गर्ने तयारी गरिएको छ । दुर्घटना न्यूनिकरणका लागि राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको दाङको गोठीखोला देखि सल्यानको लुहामसम्म ‘टाइम कार्ड’ लागु गर्ने तयारी गरिएको हो ।
बढ्दो सवारी दुर्घटना न्यूनिकरणका गर्न ‘टाइम कार्ड’ लागु गर्नका लागि सम्बन्धित निकायसम्म पहल गर्ने निणर्य गरिएको सल्यानको कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले जानकारी दिनुभयो ।
पछिल्ला दुर्घटनाको अवस्था हेर्दा सडकको कारण भन्दा पनि चालकको लापरबाहीले बढी भएको देखिएकोले दाङको गोठी खोलादेखि सल्यानको लुहामसम्ममा ‘टाइम कार्ड’ लागु गर्न आवश्यक पहल गर्ने निणर्य गरेको अध्यक्ष पुनले बताउनुभयो ।
राप्ती राजमार्ग अन्तर्गत दाङ-सल्यान सडकखण्डको सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा शनिबार दिउँसोमात्रै यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको ज्यान गएको थियो भने १५ जना घाइते भएका थिए ।
यसैगरी चाडपर्वको समयमा अन्य समयमा भन्दा बढी दुर्घटना हुने भएकाले चालकलाई अनुशासित गराउन शुभकामना कार्डसंगै जानकारीमूलक सन्देश प्रवाह गर्ने उहाँले बताउनुभयो । चालक अनुशासित भएपछि दुर्घटना धेरै मात्रामा न्यूनिकरण हुने उहाँको भनाई छ ।
चाडपर्वको समयमा सवारी साधनमा यात्रुको चाप बढी हुने भएकाले सकेसम्म सिटभन्दा बढी भएमा यात्रा नगर्न अध्यक्ष पुनले आग्रह गर्नुभएको छ ।
सल्यानका सहायक प्रमुख जिल्ला अधिकारी थम्मन खड्काले दुर्घटना न्यूनिकरण गर्न टाईम कार्ड लागु गर्न सकिने बताउनुभयो । टाइम कार्ड लागु गरिएपछि निर्धारित समयभन्दा ढिलो र छिटो भएमा जरिवाना गरिने उहाँले बताउनुभयो ।
राप्ती राजमार्गमा सवारी दुर्घटना अत्याधिक हुन थालेपछि कपुरकोट गाउँपालिकामा आइतबार आकस्मिक बैठक बसेकोे हो । बैठकले दुर्घटना न्यूनिकरणका लागि आवश्यक पहल गर्ने निणर्य गरेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले बताउनुभयो ।
यस्तै सडकमा सचेतमूलक ट्राफिक चिन्ह, सुचनामूलक बोर्डहरु पनि राख्ने निणर्य गरिएको उहाँले बताउनुभयो ।