२०८१ असोज १८ गते शुक्रवार

आज हरितालिका तीज पर्व मनाईदै

दाङ, १ असोज । आज हरितालिका अर्थात् तीज पर्व । हिन्दु धर्मावलम्बी नेपाली महिलाहरूले महादेवको पूजा आराधना गरी आज हर्षोल्सासपूर्वक तीज पर्व मनाउँदै छन् ।

तीजमा ब्रत बसेर महादेवको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास छ । दर खाएपछि औपचारिक रुपमा सुरु भएको तीज पर्व तीनदिन अर्थात् ऋषि पञ्चमीसम्म मनाइन्छ ।

तर, पछिल्ला वर्षहरुमा एक महिनाअघि देखि नै सामूहिक रुपमा भोजभतेर गरेर तीज मनाउने क्रम बढ्दै गएको छ । जसलाई कतिपयले विकृतिको रुपमासमेत अथ्र्याउन थालेका छन् ।

सत्ययुगमा आजकै दिन निराहार व्रत बसेकी पार्वतीले महादेव स्वामी पाएको पौराणिक कथासँग तीज पर्व जोडिएको छ । आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहिआएको छ । तर यसको अर्थ सबै नारी निराहार व्रत बस्नुपर्छ भन्ने नरहेको अन्तर्राष्ट्रिय पञ्चांग निर्णायक समितिका सदस्य सचिव लक्ष्मण पन्थीले बताउनुभयो ।

तीजको व्रत बस्दा आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले सुझाव दिएका छन् । शरीरले थेग्ने भएमात्रै निराहार व्रत बस्न नभए व्रत बस्दा प्रशस्त पानी, फलफूल र फलफूलका जुस खान उनीहरुको सुझाव छ ।

निराहार व्रत बस्दा शरीरमा पानीको कमी भइ बेहोशसमेत हुन सक्ने भएकाले आफ्नो स्वास्थ्यको ख्याल गर्न डाक्टरले आग्रह गरेका छन् । सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्नेले फलाहार व्रत गर्न सकिने धर्मशास्त्रमा पनि उल्लेख छ ।
तीज पर्वका अवसरमा आज बिहानैदेखि तुलसीपुरको त्रिसिद्धेश्वरी मन्दीर, घोराहीको धारापानी लगायतका ठाउँमा भिडभाड लागेको छ ।

प्रकाशित मिति : २०८० असोज १ गते सोमवार
प्रतिक्रिया दिनुहोस