
तुलसीपुर, २६ भदौ । तुलसीपुर बजारमा म्याद नाघेका वस्तु फेला परेका छन् भने अधिकांश पसलमा मूल्य सुचि नै राखिएको छैन् ।
तुलसीपुरको ‘ग’ लाइनमा रहेको न्यू अन्नपूणर् किराना सप्लार्यसमा म्याद नाघेको खुर्सानी, चियापति, बिस्कुट फेला परेको तुलसीपुर उपमहानगरपालिकाको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले बताउनुभयो ।
उहाँका अनुसार न्यू भण्डारी सप्लायर्समा म्याद नाघेका पेयपदार्थहरू फेला परेको छ । यस्तै माँ भवानी फ्रुट सेन्टरमा पनि केरा, स्याउ कुहिएको अवस्थामा भेटिएको छ भने अधिकांश पसलमा मूल्यसूचि राखिएको छैन् ।
सोमबार अनुगमनको क्रममा भेटिएका अखाद्यवस्तु जफत गरिएको छ । तुलसीपुर उपमहानगरपालिकाले सोमबार नियमित अनुगमनका क्रममा केही पसलमा सुधार देखिएपनि अधिकांश पसलमा समस्या देखिएको हो । समस्या देखिएका ठाउँमा सम्बन्धित व्यवसायीलाई खबरदारी गरिएको प्रमुख शर्माले बताउनुभयो ।

तुलसीपुर उपमहानगर-पालिकाको कार्यालय नजिकै ‘ग’ लाइनमा रहेको अन्सारी चिकेन तथा बिरयानी सेन्टरमा समस्या देखिएपछि सुधार गर्नका लागि असोज १५ गतेसम्मको समय दिएको उहाँले बताउनुभयो ।

‘धेरै समस्या देखिएपछि सुधार गर्नका लागि असोज १५ गतेसम्मको समय दिएका छौँ’ शाखा प्रमुख शर्माले भन्नुभयो- ‘असोज १५ गतेपछि पनि सुधार हुन नसकेपछि थप प्रक्रिया अघि बढाउँछौँ ।’ अन्तिम पटक पनि सुधार हुन नसकेमा कानुन अनुसार प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।
बजार सुधारका लागि उपमहानगरपालिकाले सातामा एकदिन नियमित अनुगमन गरिरहेको छ । तर बजारमा हरेक पटक समस्या देखिने गरेको छ । चाडपर्वको समयमा बजारमा हुने कालोबजारी रोक्न पनि अनुगमनलाई तिब्र बनाउने योजनामा रहेको प्रमुख शर्माले बताउनुभयो ।
चाडपर्वको समयमा अन्य समयभन्दा बढी अखाद्यवस्तु बिक्री वितरण हुने भएकोले अनुगमन अन्य समयभन्दा बढी हुने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख उज्जल रायमाझीले बताउनुभयो ।
बजारमा म्याद नाघेका वस्तु, लेबल नभएका वस्तु नष्ट गर्ने गरिएको उहाँले बताउनुभयो । अहिले विषेश गरेर सकेसम्म होलसेल पसल, मिठाई पसल, होटेल रेष्टुरेन्टमा बढी अनुगमन गरिरहेको उहाँको भनाई छ ।
सोमबार तुलसीपुरको ‘ग’ लाइनमा होटेल, किराना पसल, फलफूल पसलमा अनुगमन गरिएको छ । उपमहानगरको उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्मा, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका प्रमुख उज्जल रायमाझी, तुलसीपुर उद्योग वाणिज्य संघका कार्यालय प्रमुख पारेश्वर भट्टराई, प्रहरी र पत्रकारको उपस्थितिमा बजार अनुगमन गरिएको हो ।