दाङ, ३२ साउन । दाङको तुलसीपुर-९ बेलुवामा रहेको सगरमाथा विद्यालयले सिकलसेल एनिमिया रोगबारे सचेतना कार्यक्रम गरेको छ । विद्यार्थी, अभिभावक र समाजलाई सचेत बनाउने उद्देश्यले सिकलसेल एनिमिया रोग बारे सचेतना कार्यक्रम गरेको हो ।
विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता तथा जापनिज डा. युका नाकामुराको प्रमुख आतिथ्यता तथा समाजिक अभियान्ता जिबराज चौधरी, अभिभावक इन्द्रजित चौधरीको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
विशिष्ट अतिथी जिबराज चौधरीले तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायमा यो रोगको उच्च प्रकोप देखिएको बताउनुभयो । यस रोगबाट संक्रमित व्यक्तिहरूले आफ्नो दैनिक जीवनमा कुनै पनि प्रकारको शारीरिक काम गर्न कठिनाइ महशुस गर्ने गरेको उहाँको भनाई छ । दाङ र आसपासका क्षेत्रमा देखिएको सिकलसेल एनिमियाले सम्पूणर् मानव शरीरमा अक्सिजन पुर्याउने रातो रक्त कोशिकाको आकार नै परिवर्तन गर्ने गर्दछ ।
यसैगरी अभिभावक इन्द्रजित चौधरीले विद्यालयले समय समयमा विद्यार्र्थी, अभिभावक र समाजको स्वास्थ्य प्रती संबेदनसिल बन्दै विभिन्न कार्यक्रम गर्दै आइरहेको र पछिल्लो समयमा सबैको रोजाईको विद्यालय बनेकोमा खुशी व्यक्त गर्नु भयो ।
थारु समुदायका कतिपय व्यक्तिहरु यस रोगबाट निकै पीडित रहेका छन् । कतिपय यो रोग वारे अनविज्ञ रहेका छन् भने सक्रमित उपचारबारे जानकारी नपाएर धेरै जना घरमै पीडा सहेर बस्दै आएका छन् । रोग पहिचान हुन नसक्दा कयौंको मृतयु पनि भएको छ ।
यस रोगबाट सङ्क्रमित व्यक्तिमा गोलाकार रक्तकणिकाहरु छिटो छिटो नष्ट भै रक्त सञ्चारमा अवरोध उत्पन्न हुने र रगतमा अक्सिजनको कमी हुन गै शरीरका विभिन्न अङ्गमा क्षति पुग्ने हुन्छ । सिकलसेल एनिमिया भएमा शरीरमा पीडा, अन्य रोगहरुको सङ्क्रमण, कमलपित्त जस्ता लक्षण देखिने, फोक्सोमा रुकावट हुने, मिर्गौलामा खराबी आउने, मस्तिष्कमा आघात हुने, फियो वा कलेजोमा रक्तसञ्चार रोकिने जस्ता लक्षण देखापर्ने विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले जानकारी गराउनु भयो ।
प्रमुख प्रशिक्षक डा. युकामुराले मानव रगतमा पाइने रातो गोलाकार रक्त कोषिकाको स्वरुप परिवर्तन भई हँसियाजस्तै आकारमा रुपान्तरण हुने रक्तअल्पता सम्बन्धी रोगलाई सिकलसेल रोग वा सिकलसेल एनिमिया मानिने बताउनुभयो । यो रोग वंशाणुगत रोग हो र नेपालमा खासगरी पश्चिम तराईका थारु जातिमा बढी पाइन्छ । यो रोग जिनमा हुने खराबीले आमा-बुबाबाट छोराछोरीमा सर्ने गर्छ । यो रोग लागेका बिरामीहरुको रक्तकोषहरू हँसिया आकारको हुने भएकाले यसलाई हँसिया रोग पनि भनिन्छ ।
कार्यक्रमको सहजीकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्मा मजगैयाले गर्नुभएको हो ।