२०८० फाल्गुन २१ गते सोमवार

नियम विपरित चल्नेमा सबैभन्दा बढी मोटरसाइकल


दाङ, २८ साउन । दाङमा नियम विपरित सवारी चलाउनेको संख्यामा कमी आउन सकेको छैन् ।

नियम विपरित चल्ने सबैभन्दा बढी मोटरसाईकल रहेका छन् । हेल्मेटको प्रयोग नगर्ने, सवारी चालक अनुमति पत्र नबोक्ने, तीन जना राखेर मोटरसाइकल चलाउने, मापसे गरी चलाउने, मोटरसाइकल चलाउँदा मोबाईलको प्रयोग गर्ने लगायतका कारण नियम विपरित चल्ने सवारी साधनमा सबैभन्दा बढी मोटरसाइकल परेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका अनुसार बितेको एक वर्षको अवधिमा नियम विपरित चल्ने १६ हजार २ सय ८१ मोटरसाइकल चालकलाई कार्बाही गरिएको छ । एक वर्षको तथ्यांकलाई हेर्दा जिल्लामा दैनिक ४५ मोटरसाइकल चालक कार्बाहीमा पर्ने गरेका छन् ।

एक वर्षको अवधिमा नियम विपरित चल्ने मोटरसाइकल चालकलाई कार्बाही गर्दा १ करोड १३ लाख ७० हजार ५ सय राजश्व संकलन भएको छ । मोटरसाइकल पछि नियम विपरित चल्ने सवारी साधनमा ट्रक छन् ।

बितेको आर्थिक वर्ष २०७९/२०८० मा ११ हजार ६ सय ८५ ट्रक कार्बाहीमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख किरण प्रकाश मल्ले जानकारी दिए । उनका अनुसार एक वर्षको अवधिमा नियम विपरित चल्ने ट्रकबाट ७५ लाख ६४ हजार राजश्व संकलन भएको छ ।

यस्तै बितेको आर्थिक वर्षमा नियम विपरित चल्ने ६ हजार ६ सय ४१ जिप/कारलाई कारबाहीमा परेका छन् । प्रहरीले एक वर्षको अवधिमा नियम विपरित चल्ने जिप/कारबाट ४० लाख ४३ हजार ५ सय राजश्व संकलन गरिएको जनाएको छ ।

यस्तै गत आर्थिक वर्षमा नियम विपरित चल्ने ५ हजार ३० बस कारबाहीमा परेका छन् । एक वर्षको अवधिमा कारबाहीमा परेका बसबाट ३० लाख ३३ हजार राजश्व संकलन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

यस्तै चार हजार चार सय ८८ टेम्पु कार्बाहीमा पर्दा २८ लाख ३१ हजार ५ सय र तीन हजार ७ सय ७० टेक्टर कारबाहीमा पर्दा २२ लाख ७८ हजार राजश्व संकलन भएको छ । प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७८/२०७९ को तुलनामा बितेको आर्थिक वर्ष २०७९/२०८० मा १८ दशमलव १३ प्रतिशतले राजश्व वृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्षमा ४२ हजार ४०३ सवारी साधन कारबाहीबाट २ करोड ६३ लाख ४३ हजार राजश्व संकलन भएकोमा बितेको आर्थिक वर्षमा ४७ हजार ८९५ सवारी कारबाहीमा ३ करोड ११ लाख २० हजार ५ सय राजश्व संकलन भएको ट्राफिक प्रमुख मल्लले बताए । ट्राफिक प्रहरीको तथ्यांक अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा ४७ लाख ७७ हजार ५ सय बढी राजश्व संकलन भएको छ ।

प्रकाशित मिति : २०८० साउन २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस