दाङ, १३ साउन । लुम्बिनी प्रदेश र कर्णाली प्रदेशको सिमानामा पर्ने मणी पर्वतमा दुई पालिकाका जनप्रतिनिधि पुगेका छन् । दाङको शान्तिनगर गाउँपालिका वडा नम्बर ३ र सल्यानको त्रिवेणी गाउँपालिकाको वडा नम्बर ३ को सिमानामा पर्ने मणी पर्वतमा दुई गाउँपालिका जनप्रतिनिधि पुगेका हुन् ।
समुन्द्री सतहबाट २ हजार ५६ मिटर अग्लो स्थानमा रहेको मणी पर्वतमा शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतसहित सल्यानको त्रिवेणी गाउँपालिकाका निवर्तमान अध्यक्ष मानबहादुर डाँगी, शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मिन बहादुर केसी, वडा नम्बर ४ का अध्यक्ष गुमान वली, सल्यानको त्रिवेणी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष कणर्दिप डाँगी ‘कमल’ लगायतको टोली पुगेको हो ।
दुवै पालिकाका जनप्रतिनिधिले मणी पर्वतलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने प्रतिवद्धता जनाएका छन् । मणी पर्वतसम्म पुग्ने सडकको विस्तारसंगै विद्युत, खानेपानी लगायतका पूर्वाधारको विकास गरी पर्यटकिय गन्तव्यका रुपमा अघि बढाउने सहमती भएको शान्तिनगर गाउँपालिका अध्यक्ष प्रमोद बस्नेतले बताउनुभयो । उहाँका अनुसार जतिसक्दो छिटो मणी पर्वतलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गरिनेछ ।
महाभारत श्रृंखलाको सबैभन्दा अग्लो ठाउँको रुपमा रहेको मणी पर्वतलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सके दुवै पालिकाको आर्थिक विकासमा ठुलो टेवा पुग्ने विश्वास गरिएको अध्यक्ष बस्नेतले बताउनुभयो । मणी पर्वतबाट धेरै ठाउँको अवलोकन गर्न सकिन्छ ।