२०८२ बैशाख १० गते बुधवार

काल बन्दै पानी : पाँच वर्षमा २ सय बढीको पानीमा डुबेर मृत्यु

दाङ, ११ साउन । गत शनिबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ को ग्वारखोलाको बाँधमा पौडी खेल्ने क्रममा डुबेर रुकुम पश्चिमको आठविसकोट नगरपालिका वडा नम्बर ५ का ६ वर्षिय बालक निर्माण बुढाको मृत्यु भयो ।

साथीसंगै शनिबार दिउँसो पौडी खेल्न गएका बालकको पानीमा डुबेर मृत्यु भएको हो । पानीमा डुबेर घाइते बालकलाई उद्धार गरी राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो । तुलसीपुर–७ ज्ञानज्योति टोलमा डेरामा बस्दै आएका बालक दिउँसो ग्वारखोला बाँधमा पौडी खेल्न गएका हुन् । पानीमा डुबेर अर्का एक बालक घाइते भएका थिए ।

यस्तै असार २३ गते पातुखोलामा पनि डुबेर एक बालकको मृत्यु भएको थियो । तुलसीपुर–७ गैरापातु निवासी तुलसी दमाईका ११ वर्षिय छोरा रबिन परीयार पातुखोलामा डुबेर मृत्यु भएको थियो । खोलामा नुहाउन गएका बालक डुबेको अवस्थामा स्थानीयले फेला पारेका थिए । पानीमा डुबेका बालकको उद्धार गरेर राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जेठ २७ गते राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको थियो । लमही नगरपालिका –४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरीको राप्ती नदिमा डुबेर मृत्यु भएको थियो । घर नजिकै नुहाउँदै गर्दा डुबेर बालकको मृत्यु भएको थियो । यि तीन प्रतिनिधिमूलक घटना हुन् । दाङमा पछिल्लो पाँच वर्षमा डुबेर ज्यान गुमाउनेको सङ्ख्या बढ्दो रहेको छ । जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्र दाङले दिएको तथ्याङ्कअनुसार जिल्लामा डुबेर मृत्यु हुनेको सङ्ख्या दुई सय २८ रहेको छ । यसमा एक सय ७४ पुरुष र ५४ महिला छन् । डुबेर मृत्यु हुनेमा सबैभन्दा धेरै घोराही उपमहानगरपालिका अन्तर्गत छन् ।

तथ्याङ्कानुसार पछिल्लो पाँच वर्षमा घोराहीका ७१, तुलसीपुरका ४५, लमहीका ३१, राप्तीका २२, गढवाका १६ जनाको मृत्यु भएको छ । यसैगरी बबईका नौ, दङ्गीशरणका आठ, शान्तिनगर र राजपुरका समान पाँच–पाँच, बङ्गलाचुलीका तीन तथा जिल्ला बाहिरका १६ व्यक्तिको डुबेर मृत्यु भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समिति संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सुशील वैद्यका अनुसार जिल्लामा आव २०७९÷८० मा ४५ जनाको जिल्लाका विभिन्न स्थानमा डुबेर मृत्यु भएको छ । आव २०७८÷७९ मा ६३ जना, आव २०७७÷७८ मा ५५, आव २०७६÷७७ मा ३७ र आव २०७५÷७६ मा २९ जनाको डुबेर मृत्यु भएको तथ्याङ्क छ ।

डुबेर ज्यान गुमाउनेमा २० वर्षमुनिका ८५ जना रहेका छन् । प्रमुख जिल्ला अधिकारी वैद्यले १३ महिनाकी शिशुदेखि ८० वर्षमा वृद्धसम्मका रहेका जानकारी दिनुभयो । घोराही–९ की १३ महिनाकी शिशुको २०७८ फागुन २२ गते घर अगाडि राखेको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको थियो भने बङ्गलाचुली गाउँपालिका–७ का ८० वर्षीय दयाराम बुढामगरको २०७९ असोज २१ गते खोला तर्ने क्रममा चिप्लेर मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङले डुबेर भएका मृत्युमध्ये धेरैजसो लापरबाहीका कारण भएको जनाएको छ । पानीसँगको खेलवाड गर्दा कतिपय घटना बगाएर, कतिपय घटना पौडिन नजान्दा तथा कतिपय घटना भवितव्यका कारण भएका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले बताए ।

‘केही घटना पानीमा हामफालेर आत्महत्या गरेका पनि छन् तर धेरैजसो डुबेर मरेका घटनाको अनुसन्धान गर्दा लापरबाहीका कारण भएको देखिएको छ,’ उनले भने, ‘पानी र आगोसँग कहिले खेलवाड गर्नु हुँदैन भन्ने जान्दाजान्दै केही हुँदैन भनेर आफैँले ज्यान गुमाएको अवस्था छ ।’

जिल्लाको भौगोलिक अवस्था तथा वर्षाका समयमा सावधानी नअपनाउँदा पनि बगाएर वा डुबेर मृत्यु भएका जिल्ला प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए । साथीभाइसँग लहैलहैमा लागेर खोला नदीमा गएर नुहाउन खोज्दा धेरैजसो युवाले पौडिन नजानेरै ज्यान गुमाएका छन् ।

‘डुबेर अकालमा ज्यान गुमाउने युवाको सङ्ख्या जिल्लामा धेरै छ ।’ उनले भने–‘युवा जोश देखाउँदै लापरबाहीले नै अन्तिममा ज्यान फाल्न बाध्य भएका घटना छन् ।’ खोलानाला तर्दा होस् या पानीको काम गर्दा निकै सावधानी अपनाउनुपर्ने प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८० साउन ११ गते बिहिवार
प्रतिक्रिया दिनुहोस