२०८१ चैत्र ७ गते बिहिवार

वर्षाले दाङका विभिन्न ठाउँ-ठाउँमा क्षती

दाङ, ९ साउन । लगातार परिरहेको पानीका कारण नदी तथा खोलाहरूमा पानीको बहाव ह्वात्तै बढेको छ भने वर्षाले ठाउँठाउँमा क्षति गरेका छ ।

वर्षापछि राजपुर गाउँपालिका- ५ भुर्किहवामा रहेका १०/१२ वटा घर डुबानमा परेका छन् । उक्त स्थानमा प्रहरी चौकी चङ्गुवा बाट खटिएको प्रहरी टोलीले उद्धार गरेको र मानवीय तथा पशु चौपायाको क्षति नभएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

त्यस्तै राजपुर गाउँपालिका- २ बेला बस्ने ३२ वर्षकी की पुष्पा नेपालीको एक तले खरले छाएको कच्ची घरको एकातिरको भित्ता भत्किएको छ । बिहान १० बजे भित्ता भत्केपछि प्रहरी चौकी बेलाबाट खटिएको प्रहरी टोलीले नेपालीलाई छिमेकी ग्वाते कुमालको घरमा सारेको जनाएको छ ।

लमही नगरपालिका- १ सुन्डबरी र वडा नम्बर ३ कान्तिपुरमा पनि घरहरू डुबानमा परेका छन् । सुन्डबरी बस्ने वर्ष ७० का निम बहादुर सार्कीको फुसले छाएको १ तले कच्ची घरमा पानी पसेको र २ जनाको परिवारलाई उद्धार गरी छोरा छबे सार्कीको घरमा राखिएको प्रहरीले जनाएको छ ।

कान्तिपुर बस्ने बर्ष ३६ को राम बहादुर कुमालको १ तले पक्की घरमा पानी पसेको, निजको परिवार घरको छतमा रहेकोले उद्धारको काम भइरहेको बताइएको छ । सोही ठाउँका ४० बर्षका सुशिल कुमालको २ तले कच्ची घरमा पानी पसेको छ ।

तर पानी पस्नु भन्दा पहिले नै उहाँको परिवार सुरक्षित ठाउँमा गएको प्रहरीले जानकारी दिएको छ । सोही ठाउँमा ६० वर्षका दयाराम चौधरीको २ तले कच्ची घरमा पानी पसेको छ । उहाँ पनि पानी पस्नु भन्दा पहिले नै सुरक्षित ठाउँमा गएको प्रहरीले जनाएको छ ।

बिहान देखि परेको अविरल वर्षाको कारण कालाकाटे देखि गोबरडिया हुँदै गढवा सम्मको हुलाकी सडक खण्डका विभिन्न स्थानमा बाढी आई लेदो खसेर बाटो अवरुद्ध भएको छ ।

उक्त स्थानमा अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट प्रहरी सहायक निरीक्षक नेत्रलाल केसी को कमान्डमा ३ जना र प्रहरी चौकी गोबरडिया बाट प्रहरी सहायक निरीक्षक कमल बन्जाडेको कमाण्डमा ४ जनाको टोली खटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता समेत रहनुभएका डिएसपी राजन गौतमले जानकारी दिनुभयो ।

त्यस्तै बेला-लमही सडक खण्डको राप्ती नदीमा आएको बाढी, बेला-गढवा सडक खण्ड चन्दनपुर खोलामा आएको बाढीले सडक अवरुद्ध भएको छ । उक्त स्थानमा इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरीक्षक नवीन वलीको कमान्डमा ५ जनाको टोली खटिएको छ ।

प्रकाशित मिति : २०८० साउन ९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस