२०८१ मङ्सिर २२ गते शनिवार

राम्रीदेखि कपुरकोटसम्मको विद्युत काटेर रोल्पाबाट विद्युत आपुर्ती

दाङ, ४ साउन । दाङ तुलसीपुरको राम्रीदेखि सल्यानको कपुरकोटसम्म विद्युत लाइन काटिएको छ । राप्ती राजमार्ग अन्तर्गत राम्रीदेखि कपुरकोटसम्म पहिरोको जोखिम बढेपछि विद्युत लाइन काटिएको हो ।

राम्रीदेखि कपुरकोटसम्मको विद्युत लाइन काटेर सल्यानमा रोल्पाबाट विद्युत आपुर्ति गरिएको विद्युत प्राधिकरण नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र सल्यानका प्रमुख अशोक लोहनीले ईकापी न्युजलाई जानकारी दिनुभयो ।

‘राम्रीदेखि कपुरकोटसम्म पहिरोको जोखिम बढेपछि अहिले ११ केभिको लाइन काटेका छौँ ।’ उहाँले भन्नुभयो–‘कपुरकोट गाउँपालिकाभरी अहिले रोल्पाको कोइलाचौर सबस्टेशनबाट विद्युत आपुर्ति गरेका छौँ ।’ एकसाता अघिमात्रै विद्युतको तार बसमा प्रवाह हुँदा तीन जनाको मृत्यु भएको थियो । त्यसपछि पनि पहिरोले विद्युतको पोल समेत भाँचिएको छ ।

फेरि पनि पहिरोको जोखिम बढेकाले अहिले राम्रीदेखि कपुरकोटसम्मको ११ केभि लाइन काटिएको प्रमुख लोहनीले बताउनुभयो ।

कपुरकोट गाउँपालिकाभर अहिले वैकल्पीक लाइनको व्यवस्था गरेपछि भोल्टेजको समस्या रहेकाले जतिसक्दो छिटो राम्रीदेखि कपुरकोटसम्मको लाईन सुधार गर्ने उहाँले बताउनुभयो ।

भदौअघि समाधान हुने संभावना निकै कम रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार दाङदेखि कपुरकोटसम्म ११ केभिको विद्युत लाइन छ भने कपुरकोट गाउँपालिकाबाहेक सल्यानको अन्य क्षेत्रमा अर्को ३३ केभि विद्युत लाइन छ । ३३ केभि विद्युत प्रशारण लाइन पहिरोको जोखिममा नभएको उहाँले बताउनुभयो ।

यसैबिच सल्यानको कपुरकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भरत कुमार वली र नेपाल विद्युत प्राधिकरण सल्यान वितरण केन्द्र प्रमुख इन्जिनियर अशोक लोहनी बिच विद्युतिय जोखिम र विद्युतिकरण कार्यको बुधबार छलफल भएको छ ।

भेटघाटमा प्रमुख प्रशासकीय अधिकृत वलीले गाउँपालिका क्षेत्रमा जिर्ण पोल र राप्ति राजमार्गमा पहिरोको कारण पुन ठुलो दुर्घटनाको जोखिम रहेकोले समस्या समाधानका लागि अनुरोध गर्नुभएको हो ।

त्यस अवसरमा प्रमुख प्रशासकिय अधिकृत वलीले बिरेन्द्र मावि गर्पा र भवानी माबि छायानाथमा विद्यालयमा परिसरमै पोल ढली ठुलो जनधनको क्षति हुनसक्ने अबस्था रहेको, विद्युतिय समस्या आउदा प्राधिकरणकाबाट छिटो छरीतो सेवा पाउन नसकेको जनगुणासो बढेकोबारे प्रमुख लोहनीलाई जानकारी गराउँदै समस्या समाधान गर्न अनुरोध गर्नुभयो ।

त्यस अवसरमा वितरण केन्द्र प्रमुख लोहनीले राम्रीदेखि कपुरकोट बजारसम्मको विद्युत लाइन काटेर रोल्पाबाट विद्युत आपुर्ति गरिएकोले हाल राप्ती राजमार्गमा कुनैपनि विद्युतिय जोखिम नरहेको स्पष्ट पार्नुभएको छ ।

यस्तै कपुरकोट गाउँपालिकाका विभिन्न स्थानहरुमा जोखिमपुर्ण पोलहरु गाउँपालिकाको समन्वयमा परिवर्तन गरिरहेको , दुई दिन पहिलेमात्र २ वटा पोल कपुरकोट खालि सडकमा फेरीएको, बिरेन्द्र मावि गर्पामा गत फाल्गुणमै पोल स्थानान्तरण गर्न फाइल स्विकृत गराएर धरौटि रकम जम्मा गर्न विद्यालयलाई पत्राचार गरिएकोमा हालसम्म पनि विद्यालयले कुनै चासो नदिएकोले काम हुन नसकेको र धरौटि रकम जम्मा गर्ने बितिकै पोल सार्न सकिने अबस्था रहेको बताउनुभयो ।

यस्तै भवानी माबि छायानाथले पोल सार्न आवश्यक कागजात पुरा गरेर निबेदन नदिएकोले काम अगाडि नबढेको, कपुरकोट गाउँपालिकामा भैरहेको विद्युतिकरण तर्फ गाउँपालिकाले विद्युत प्राधिकरणलाई उपलब्ध गराएको २ करोडको शत प्रतिशत नै रकम खर्च भएको तथा शाखा लाइनतर्फ ४० प्रतिशत काम सम्पन्न भएको प्रमुख लोहनीले बताउनुभयो ।

शाखा लाइनतर्फ सबै आवश्यक सामाग्रीहरु सम्बन्धित स्थानसम्म पुर्याएर द्रुतगतिमा काम भैरहेकोले आगामी असोज भित्र काम सम्पन्न हुने उहाँले बताउनुभयो ।

यस्तै प्रमुख प्रशासकीय अधिकृत वलीले पालिका अन्तर्गतका कार्यालयहरुको एक्मुस्ट बिल भुक्तानी गर्ने व्यवस्थाको लागि अनुरोध गर्नुभयो ।

उहाँले बिरेन्द्र मावि र भवानी माबिलाई आबश्यक प्रकृया पुरा गर्न लगाई यथासिघ्र जोखिम न्युनिकरण गर्न जरुरी रहेको बताउनुभयो । केन्द्र प्रमुख लोहनीले पनि समस्या समाधानमा आफु गम्भिर रहेको बताउनुभयो ।

प्रकाशित मिति : २०८० साउन ४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस