दाङ, ३१ असार । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले चलचित्र नम्बरी सुनका निर्देशक राजु गिरी, निर्माता नारायण खाति, कलाकारहरु कंगना गिरी, काजल गिरी संग घोराहीमा साक्षात्कार कार्यक्रम गरेको छ ।
कार्यक्रममा चलचित्र नम्बरी सुनका निर्देशक राजु गिरीले मैले विगतमा पनि समाजमा सकारात्मक सन्देश दिने सचेतनामूलक चलचित्रहरु निर्देशन गर्दै आएको छु र सोहि विषय बस्तुलाई समेटिएर समाजमा विद्यमान जातीय भेतभावको कथावस्तुलाई चलचित्रमा समेटिएको बताउनुभयो ।
यो चलचित्र पनि पारिवारिक प्रेम कथामा आधारित रहेको छ । कामका आधारमा निर्धारण गरिएको जातीय व्यवस्थाले मान्छे मान्छे बीचमा विभेदको अवस्था सिर्जना गरेको र त्यही विभेदले विभिन्न खाले घटनाहरु निम्त्याएको बताउदै उहाँले नम्बरी सुनमा पनि जातीय विभेदको गलत चिन्तन व्याप्त हुदा अन्तरजातीय प्रेम तथा विवाह सम्बन्ध, र ती जोडीको परिवार तथा समुदायमा भइरहेका अप्रिय घटनाहरुको बारेमा देखाउन खोजेको बताउनुभयो ।
गौरव पहाडी, नम्रता सापकोटा, राजाराम पौडेल, बुद्धि तामाङ, विनोद न्यौपाने, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र आगामी भदौ १ गतेदेखि देशभरका सिनेमा हलहरुमा प्रदर्शन हुने बताउनुभयो ।
चलचित्र प्रदर्शन हुने दिन नजिकिदै गर्दा नेपाल सुनचाँदी व्यावसायिक संघ दाङको आयोजना घोराहीमा च्यारेटी शोको आयोजना गरिएको थियो । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाका अध्यक्ष सन्तोष केसीको अध्यक्षता भएको कार्यक्रममा बोल्दै निर्माता तथा कलाकार नारायण खातीले सुनको बिषयबस्तुलाई सामाजसग जोडेर चलचित्रका माध्यमबाट देखाउन खोजेको बताउनुभयो ।
संघका सदस्य एकराज भण्डारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव निरला अर्यालले गर्नुभएको हो ।