दाङ, १८ असार । दाङसहित देशभर अहिले मनसुनी वायुको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
साथै कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन/चट्याङ्ग सहित भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।
महाशाखाका अनुसार राति कोशी, गण्डकी र लुम्बिनी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना छ ।
मधेश प्रदेश लगायत बागमती र कोशी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी र मधेश प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेकोले सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाले जनाएका छ ।
तसर्थ भारी वर्षा, मेघ-गर्जन/चट्याङ्ग, गेग्रान बहाव, बाढी, पहिरो तथा भू क्षयका कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।