दाङ, १५ असार । असारको दोस्रो सातासम्म अधिकांश किसानले यसवर्ष धान रोपेका छैनन् । समयमै वर्षात नहुँदा यसवर्ष जिल्लामा धान रोपाई ढिला भएको हो ।
असारको मध्येसम्म पनि दाङमा करिब १० प्रतिशतमात्रै धान रोपाई सकिएको छ । यसवर्ष मनसुन ढिला भित्रिएपछि असारको दोस्रो सातासम्म पनि करिब ९० प्रतिशत खेत बाँझै रहेका छन् ।
गतवर्ष असारको दोस्रो सातासम्म करिब ३५ प्रतिशत भइसकेको थियो । तर यसवर्ष वर्षात ढिला हुँदा धान रोपाई ढिला भएको कृषि ज्ञान केन्द्र दाङका सुचना अधिकारी पृथ्वीराज लामीछानेले बताउनुभयो ।
जुन गतवर्षको तुलनामा निकै कम हो । गतवर्ष समयमै वर्षात शुरु भएका कारणले असारको दोस्रो सातासम्म दाङमा ३५ प्रतिशत रोपाई सकिएको सुचना अधिकारी लामीछानेले बताउनुभयो ।
उहाँका अनुसार जिल्लामा दाङ उपत्यकाको तुलनामा देउखुरी उपत्यकामा यसवर्ष बढी धान रोपाई भएको छ । राप्ती नदिको पानीले राप्ती गाउँपालिकाका अधिकांश खेतमा अहिलेसम्म धान रोपाई सकिएको छ ।
यस्तै गढवाका केहि भागमा मात्रै अहिलेसम्म धान रोपाई सकिएको सुचना अधिकारी लामीछानेले बताउनुभयो । दाङ उपत्यकामा वर्षात शुरु भएपछि मात्रै धानको ब्याड राख्न थालिएको छ ।
यसवर्ष ढिला गरी रोपाई भएपनि अब लगातार वर्षा भएपछि धान उत्पादनमा असर नपर्ने उहाँले बताउनुभयो ।
दाङमा ३९ हजार ४ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ । तिमध्ये १९ हजार हेक्टर क्षेत्रफल खेतमा मात्रै बाह्रै महिना सिंचाई हुने गरेको छ ।
जिल्लामा आधाभन्दा बढी खेत आकाशे पानीको भरमा धान खेती हुने गरेको सुचना अधिकारी लामीछानले बताउनुभयो ।
जिल्लामा बिन्देश्वरी जातको धान राम्रो उत्पादन हुने गरेको छ । यो जातको धान कम पानीमा पनि उत्पादन गर्न सकिने उहाँले बताउनुभयो । तर पछिल्लो समय जिल्लामा राधा–४, सुख्खा–१, २, ३, ५, हरिनाथ जातको धान खेती भइरहेको उहाँले बताउनुभयो । यस्तै हाईब्रेड युएस ३१२ पनि किसानले धेरै मात्रामा लगाउन थालेको उहाँको भनाई छ ।