
तुलसीपुर, २७ जेठ । लुम्बिनी प्रदेश सभा सदस्य रेखा शर्माले मानव सेवा आश्रम तुलसीपुरमा फलफूल वितरण गर्नुभएको छ । प्रदश सभा सदस्य शर्माले आमा स्व. तुलसी रसाइलीको सम्झनामा आश्रममा फलफूल वितरण गर्नुभएको हो ।
शर्माले शनिबार बिहान आश्रममा रहेका ६४ जनालाई फलफूल वितरण गर्नुभएको हो । फलफूल वितरण गर्दै शर्माले आमाको स्मृतिमा तत्काल ठुलो सहयोग गर्न नपाएपनि आश्रमका दाजुभाई तथा दिदीबहिनीलाई फलफूल वितरण गरेको बताउनुभयो ।
उहाँले सडक आश्रित मानवको संरक्षण सरकारले गर्नुपर्ने दायित्व भएकाले प्रदेश सरकारले मानव सेवा आश्रमलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
फलफूल वितरण कार्यक्रममा चेम्बर अफ कमर्स तुलसीपुरका अध्यक्ष टोप बहादुर घर्ती, महासचिव प्रेमप्रकाश गिरी, व्यवसायी गंगा वली खड्का लगायतले सबैको सहयोगले मात्रै मानव सेवा आश्रम संचालन गर्न सकिने बताउनुभयो ।
आश्रममा अहिले ३ जना बालबालिका , २६ महिला र ३५ पुरुष सहित ६४ जना रहेका छन् । त्यस अवसरमा मानव सेवा आश्रम दाङका प्रमुख हिरु जोशीले मानव सेवा आश्रम सहयोगी दाताकै भरमा संचालन भएकाले सबै किसिमको सहयोग आवश्यक रहेको बताउनुभयो ।
उहाँले फलफूल वितरण गरेकोमा प्रदेश सांसद शर्मालाई धन्यवाद ज्ञापन गर्नुभयो । कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले गर्नुभएको हो ।