
दाङ, २३ जेठ । सल्यानको कपुरकोट गाउँपालिकामा विवाहका लागि १३ जोडीले वडाबाट सिफारिस लिएका छन् । बालविवाह न्यूनीकणका लागि गाउँपालिकाले अघि सारेको विवाहपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियमलाई पालना गरी १३ जोडीले विवाहका लागि सिफारिस लिएका हुन् ।
गाउँकार्यपालिकाले ०७९ माघ २७ गने विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य लिनुपर्ने नियम बनाएपछि फागुन १५ गतेदेखि यो नियम लागु भएको हो । विवाहका लागि विवाह गर्ने जोडीले नागरिकता वा जन्मदर्ता लिएर वडा कार्यालयमा गएपछि वडा कार्यालयले निःशुल्करुपमा विवाहको लागि सिफारिस गर्ने गरेको छ ।
विवाह गर्ने जोडीले नागरिकता वा जन्मदर्ता लिएर वडा कार्यालयमा आएपछि सिफारिस उपलब्ध गराइने कपुरकोट गाउँपालिका–३ का वडाअध्यक्ष प्रदीप खड्काले बताउनुभयो ।
गाउँपालिकाभित्र बढ्दै गएको बालविवाहलाई रोक्ने लक्ष्यका साथ उमेर पुगेर विवाह गर्दा पनि वडा कार्यालयको सिफारिस अनिवार्य गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो ।
गएको वर्ष पुस महिनामा गरिएको घरधुरी सर्वेक्षणमा पालिकाभित्र तीन सय ४६ जनाले बालविवाह गरेको तथ्यांक रहेको छ ।
यस्तै स्वास्थ्य शाखाका अनुसार यसै वर्ष गर्भवती जाँचमा आएकामध्ये १८ वर्षमुनिका २५ जना र २० वर्षमुनिका ४० जना रहेका छन् । विवाह गर्नुपूर्व वडाको सिफारिस अनिवार्य गरेपछि पालिकाभरबाट १३ जोडीले विवाहको सिफारिस लिएका छन् भने छ वटा बालविवाह रोकिएको प्रमुख प्रशासकीय अधिकृत भरतकुमार वलीले जानकारी दिनुभयो ।