दाङ, २२ जेठ । तराईका केही भू–भागहरूमा तातो हावा चलिरहेकोले देशभरको अधिकतम र न्यूनतम तापक्रम खासै नघट्ने देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
तसर्थ अत्याधिक गर्मी तथा हावाहुरीबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
अहिले बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो सुदूरपश्चिम र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । लुम्बिनी प्रदेशको तराईका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।
आज राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने महाशाखाले जनाएको छ ।