दाङको एक विद्यालयमा प्रधानाध्यापक नियुक्तीमा राजनीति भएको भन्दै विद्यार्थीले तालाबन्दी गरेको चार दिन भएको छ । दंगिशरण गाउँपालिका वडा नम्बर ६ मा रहेको सिद्ध पृथ्वी जनता माध्यमिक विद्यालय श्रीगाउँमा विद्यार्थीले ४ जेठदेखि तालबन्दी गरेका हुन् ।
विद्यार्थीले विद्यालयमा तालबन्दी गरेपछि पठनपाठन प्रभावित भएको छ । विद्यालयमा दुई जना प्रधानाध्यापक छन् । विद्यालयमा चन्दलाल जैसी र बाबुराम अधिकारी गरी दुईजना प्रधानाध्यापक छन् ।
दुई जनामध्ये जैशीलाई विद्यार्थी र विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक बनाउन चाहेको र पालिकाले अधिकारीलाई प्रअ बनाउन खोजेपछि विवाद भएको हो ।
प्रअ नियुक्तिको विषयमा विवाद हुँदा एकातिर पढाई प्रभावित भएको छ भने अर्कोतर्फ शिक्षकहरुले लामो समयदेखि तलब पाउन सकेका छैनन् ।
यद्यपी शिक्षक तथा कर्मचारीहरुले गाउँपालिकाको कार्यालयलाई ध्यानाकर्षण गरेपश्चात शिक्षक तथा कर्मचारीहरुको रोकिएको तलब खाता सञ्चालनमा आएको छ । तर विद्यार्थीले तालबन्दीलाई जारी राखेका छन् ।
गाउँपालिका शिक्षा शाखा प्रमुख बिनोद अधिकारीले विद्यार्थीले लगाएको ताला आजदेखि खोल्ने मौखिम सहमती भएको बताउनुभयो । विद्यार्थीले ताला खोले पठनपाठनलाई नियमित बनाउन दिने सहमती भएको प्रमुख अधिकारीले रेडियो हाम्रो पहुँचलाई बताउनुभयो ।
विद्याथीहरुले समयमै पाठ्यपुस्तक पाउनुपर्ने, विद्यालमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले विद्यालयमा राजनिती गर्न नहुने, विद्यालयको प्रअमा चन्दलाल जैसीलाई नियुक्त गर्नुपर्नेलगाएतका माग राखेर विद्यालयमा विद्यार्थीहरु आन्दोलित छन् ।