२०८१ फाल्गुन १ गते बिहिवार

तुलसीपुर-१६ लाई भोलि बालश्रममुक्त वडा घोषणा गरिने

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ लाई बालश्रम मुक्त वडा घोषणाका लागि सम्पूणर् तयारी पूरा भएको छ । वडामा बालश्रम शून्यमा झरेपछि बुधबार (भोलि) बालश्रम मुक्त वडा घोषणा गरिने भएको हो ।

बालश्रम मुक्त वडा घोषणाका लागि आवश्यक सुचक पुरा गरी घोषणा गर्न लागिएको छ । बालश्रममुक्त घोषणा हुनेमा वडा नम्बर १६ नगरकै पाँचौ वडा हुने भएको हो । यसअघि तुलसीपुरका चार वटा वडा बालश्रममुक्त घोषणा भइसकेको छन् ।

श्रममा लाग्न बाध्य चार बालबालिकालाई परिवारमा पुर्नस्थापना गरी शिक्षाको ग्यारेन्टी भएपछि वडालाई बालश्रममुक्त वडा घोषणा गर्न लागिएको वडा अध्यक्ष शिवानन्द डिसीले जानकारी दिनुभयो ।

वडा अध्यक्ष डिसीले वडा बालश्रममुक्त वडा घोषणा भएपछि आगामी दिनमा कसैले पनि बालश्रम लगाएको पाएमा कानुनी प्रक्रियाबाट अघि बढ्ने बताउनुभयो ।

बुधबार भोलि बिहान साढे सात बजे वडाले लक्ष्मिपुर डाँडामा एक कार्यक्रमको आयोजना गरी बालश्रममुक्त वडा घोषणा गर्न लागेको हो । वडाले मंगलबार पत्रकार सम्मेलन गरी भोलि बालश्रममुक्त वडा घोषणा कार्यक्रममा उपस्थितिका लागि सबैमा अनुरोध गरेको छ ।

वडा अध्यक्ष शिवानन्द डिसीको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा पत्रकार सम्मेलन गरिएको हो । त्यस अवसरमा नगरप्रमुख खड्काले समृद्ध र सुखी नगरका लागि सबैभन्दा पहिलो काम बालअधिकार सुरक्षित गर्नुरहेकोले नगर अहिले बालश्रममुक्त वडा घोषणाको अभियानमा रहेको बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष तथा बालविज्ञ दुर्गालाल केसीले बालबालिकाले पढ्न , लेख्न पाउने अधिकार सुरक्षित गर्न राज्यको देखाएको भूमिकाको प्रशंसा गर्नुभयो । कार्यक्रमको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले गर्नुभएको हो ।

प्रकाशित मिति : २०८० बैशाख २६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस