
दाङ, २५ बैशाख । नेपालको कानुनले २० वर्षभन्दा कम उमेरको विवाहलाई मान्यता नदिएपनि दाङमा २० भन्दा कम उमेरमै सबैभन्दा धेरै विवाह हुने गरेको देखिएको छ ।
राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांक अनुसार दाङमा २० वर्षभन्दा कम उमेरमै विवाह गर्नेको संख्या सबैभन्दा धेरै देखिएको छ । सहरोन्मुख जिल्लाको रुपमा रहेको दाङमा शिक्षाको चेतना बढ्दै गएपनि सानै उमेरमा विवाह गर्नेको संख्या बढी देखिएको छ ।
तथ्यांक अनुसार सानै उमेरमा विवाह गर्ने पुरुषको तुलनामा महिला बढी देखिएका छन् । जिल्लामा १ लाख ७२ हजार ५४१ जना महिला र ८७ हजार ७८७ पुरुषले २० वर्षभन्दा कम उमेरमा विवाह गरेका छन् ।
जिल्लामा सबैभन्दा बढी १८ देखि २० वर्षको उमेरमा सबैभन्दा बढी विवाह हुने गरेको देखिएको छ । जनगणनाको तथ्यांकमा १८ देखि २० वर्षसम्मको उमेरमा ८० हजार २२२ जना महिलाले विवाह गरेका छन् भने सोहि उमेर समुहमा ५८ हजार २६३ जना पुरुषले विवाह गरेका छन् ।
सबैभन्दा कम उमेर समुह १० भन्दा कम उमेरमा ४ सय १ महिला र ६३ जना पुरुषले विवाह गरेका छन् । यस्तै १० देखि १४ वर्षमा विवाह गर्ने महिलाको संख्या १८ हजार ६८१ रहेको छ भने सोहि उमेर समुहमा विवाह गर्ने पुरुषको संख्या ४ हजार १९५ जना रहेको छ ।
यसैगरी १५ देखि १७ वर्षसम्मको उमेरमा विवाह गर्ने महिलाको संख्या ७३ हजार २३७ रहेको छ भने सोही उमेर समुहमा विवाव गर्ने पुरुषको संख्या २५ हजार २ सय ६४ रहेको छ । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजा अनुसार दाङमा ५० वर्षभन्दा माथि उमेरमा विवाह गर्ने महिलाको भन्दा पुरुषको संख्या बढी देखिएको छ । ५० वर्षभन्दा माथि विवाह गर्ने महिला ९ जना रहेका छन् भने पुरुषको संख्या ४९ जना रहेको छ ।