दाङ, १४ बैशाख । दाङको लमही नगरपालिका वडा नम्बर ९ को सवारी डाँडामा करिब एक महिना अघि नेपाल टेलिकमको टावर संचालनमा आएपनि भरपर्दो नभएको स्थानीयले बताएका छन् । बिरह सामुदायिक वनको सवरी डाँडामा दुरसंचार कार्यालयले संचालनमा ल्याएको टावरले इन्टरनेट सेवा भरपर्दो दिन नसकेको हो ।
पुुर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत पर्ने बाँङ्गेतालदेखि तिलकन्या सडक क्षेत्र तथा आसपासका करिब दर्जन बढी वस्तीका नागरिकलाई सेवा दिने उद्देश्यले टावर संचालनमा आएको हो ।
स्याँले, जलकुण्डी, हात्तीखाल, बाँङ्गेताल, घ्युफचका, हर्दवा, बेलघारी ,धवारी ,तरुलिया तेलिया तथा कोलतरा गाउँ वस्तीका नागरिकलाई संचार सुविधा दिन टावर संचालनमा आएपनि इन्टरनेट सेवा भरपर्दो नभएको प्राथमिक विद्यालय हर्दवाका प्रधानाध्यापक हेमराज खड्काले बताउनुभयो । टेलिकमलाई जानकारी गराउँदा पनि अहिलेसम्म कुनै सुनुवाई नभएको उहाँले बताउनुभयो ।
त्यसैगरी राजपुर गाउँपालिका वडा नं ७ अन्तर्गत पर्ने राताकाँस, गल्चु, सिक्टा, लैबरुवा, बनकट्टि लगायतका गाउँ वस्तीका नागरिकलाई समेत सेवा दिन टावर संचालनमा आएपनि इन्टरनेटका लागि अझै भरपर्दो सेवा नभएको लमही ९ का वडासदस्य पार्वती बिकले बताउनुभयो ।
टावरबाट भरपर्दो सेवाका लागि पटकपटक नेपाल टेलिकम कार्यालय तुलसीपुर ,नेपालगंज तथा सम्बन्धित निकाय मा अनुरोध खबरदारी गर्दा समेत सेवा विस्तार हुन नसकेको स्थानीयको गुनासो छ । संचारको पहुँच सहज नहुँदा विभिन्न दुर्घटना तथा सुत्केरी लगायतका बिरामीहरुले समयमै सूचनाको अभावमा एम्बुलेन्स सेवा नपाउँदा मृत्युवरण गर्नुपरेको कैयौं घटना रहेको निवर्तमान वडासदस्य खिमबहादुर योगिले बताउनुभयो ।
टावर संचालनका लागि पुर्वसंचार मन्त्री मोहनबहादुर बस्नेतको कार्यकालमा बजेट विनियोजन भएतापनि अस्थिर सरकार तथा सरोकारवाला नेतृत्वले चासो रुचि नदेखाउँदा दर्जनौं वस्तीका हजारौं नागरिक संचार बिहिन हुनु परेको छ ।