दाङ, २२ चैत । तुलसीपुरमा कारमा चढेर आएका दुई जनाले डिजेल चोरी गरेका छन् । तुलसीपुरस्थित पातुखोलामा रहेको नयाँ बसपार्कमा गएराति करिब २ बजेतिर ना ४ च ५७८७ नम्बरको कारमा आएका दुई जनाले रोकिराखेको बसबाट डिजेल चोरी गरेका हुन् ।
उनीहरुले पार्किङमा राखेको ना ४ ख ६४९५ नम्बरको गाडीबाट एक जर्किन डिजेल निकालेको प्रहरीले जनाएको छ । प्रहरीले डिजेल चोरीमा संलग्न रहेको आरोपमा तुलसीपुर ९ बेलुवाका १८ वर्षीय नवीन केसी र सोही ठाउँका विशाल रावतलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूसँग आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लले बताउनुभयो । डिजेल चोर्न प्रयोग गरिएको कार तुलसीपुर ८ का दिलीप विकको रहेको खुलेको छ । उनी कालिका मालिका अटो प्रालिका अध्यक्ष हुन् ।
कार धनीले नै उनीहरूलाई डिजेल चोर्न पठाएका हुन् कि भन्ने आशंका गर्ने ठाउँ पनि देखिएको डिएसपी मल्लले बताउनुभयो । उहाँले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
बसपार्कमा पार्किङ गरिएका गाडीका डिजेल चोरिएका घटना बढेको गुनासोपछि चोर पत्ता लगाउन केही दिनदेखि प्रहरी सहायक निरीक्षक सन्तोष आचार्य लगायतको टोलीले बसपार्क क्षेत्रमा निगरानी गरिरहेको छ ।
बसपार्कमा पार्किङमा राखिएका गाडीबाट टिभी, वाइफाइ राउटर, स्पिकर, डिजेललगायत चोरी हुन थालेपछि प्रहरीले गस्ती बढाएको छ ।