२०८१ मङ्सिर २३ गते आइतवार

कपुरकोटमा साना योजना एकिकृत

सल्यान, २२ चैत । सल्यानको कपुरकोट गाउँपालिकाले साना टुक्रे योजनालाई एकिकृत गरेको छ । गाउँपालिकाले चालुवर्षको बजेटमा ५ लाख भन्दा साना योजनालाई एकिकृत गरेको हो ।

गाउँपालिका भित्र साना ३ वटासम्म योजनाको एउटै उपभोक्ता समितिबाट काम गरिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत कुमार वलीले जानकारी दिनुभयो ।

योजनाका लागि उपभोक्ता समितिका नाममा व्ययभार बढाउने अवस्थामा खर्चमा मितव्ययिता अपनाउन गाउँपालिकाले यसवर्षदेखि ३ वटासम्म साना योजनाको एउटै उपभोक्ता समितिमार्फत काम गर्न थालेको उहाँको भनाई छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा ५ लाख भन्दा साना योजना नै नबनाउने गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले बताउनुभयो । ‘साना टुक्रे योजनालाई अहिले एकिकृत गरेका छौँ, आगामी वर्षमा ५ लाखभन्दा कमका योजना नै छनौट गर्दैनौँ ।’ उहाँले भन्नुभयोे-‘२ लाख सम्मको योजना टोल विकास समितिलाई नै दिन्छौँ ।’

योजना एकिकृत हुँदा अनुगमन खर्चसमेत बचत हुने उहाँको बताउनुभयो । उहाँले गाउँपालिकाका आम नागरिकलाई योजना छनौट गर्दा सकेसम्म ५ लाखभन्दा ठुला योजना बनाउन आग्रह गर्नुभएको छ ।

साना टुक्रे योजनाले खर्च अनुसारको उपलब्धि थोरै हुने भएकाले पनि सकेसम्म साना योजनालाई एकिकृत गरेर कम्तिमा पनि ५ लाख भन्दा माथिको योजना बनाउने गाउँपालिका उपाध्यक्ष प्रकाश भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र २२ गते बुधवार
प्रतिक्रिया दिनुहोस