दाङ, २१ चैत । घोराही उपमहानगरका विभिन्न वडाहरुमा केही कन्सल्टेन्सीले पालिका र वडासँगको समन्वय बिनानै घरघरमा पुगेर आफु पालिकाले खटाएको व्यक्ति भन्दै सस्तोमा घरनक्सा बनाई दिने र पास गर्न सहजीकरण गरिदिने प्रलोभन दिएर पैसा उठाएको पाईएको छ ।
एक समुहले सुचनाको गलत प्रयोग गर्दै गाउँगाउँमा आफ्ना कर्मचारी खटाएर घर नक्सा बनाउनुभएको छ की छैन ? बनाउनुभएको छैन भने हामी पालिकामा गएर बनाउने खर्चभन्दा यही सस्तोमा काम गरिदिन्छौँ भन्दै पचास हजार रुपैयाँसम्मको बार्गेनिङ गर्ने गरेको तथ्य बाहिरिएको छ ।
घोराही ३ भानपुरका कृष्ण चौधरीलाई आफुहरु घोराही उपमहानगरपालिकाबाट खटिएर आएको कर्मचारी भन्दै अफरका रुपमा सस्तोमा घरनक्सा बनाई दिने लोभ देखाएर केही पैसा समेत लिएका छन् ।
पुष्पा दमाई, शान्तराम चौधरीको अवस्था पनि कृष्ण चौधरीको जस्तै छ । शुरुमा घरमा आएर सस्तोमा घरनक्सा बनाएर पास गराई दिने आश्वासन पाएपछि काम गराउन आफुहरु तयार भएको उनीहरुको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय दाङको टोलीले ३ जना महिलालाई आईतबार नियन्त्रणमा लियो । उनीहरुको साथबाट केही प्रमाण पनि बरामद भएको छ । रजिष्टरमा विभिन्न व्यक्तिबाट ५५ हजार रुपैयाँ लिईसकेको देखिन्छ ।
तर, फिल्डमा खटाउनेको बारेमा सोधखोज गर्दै जाँदा प्यूठानका अर्जुन बस्नेतले खटाएको भन्ने पत्ता लाग्यो । अर्जुनले घोराही उपमहानगरपालिकाबाट आकाभ ईन्जिनियरिङ कन्सल्टेन्सीका नाममा २०७६ मंसीर १७ गते व्यापार व्यवसायको इजाजत लिएको देखिएको छ ।
व्यवसाय ईजाजत नविकरण नगरेर अवैधानिक रुपमा काम गर्दै आएको भन्दै आकाभ ईन्जिनियरिङ कन्सल्टेन्सीलाई यस्ता काम नगर्न सचेत गराएको छ । सो कन्सल्टेन्सीले आफ्नो व्यवासय नविकरण गरेर कानुनी प्रक्रिया अनुसार काम गर्ने प्रतिवद्धता जनाएको छ ।