२०८१ असोज ४ गते शुक्रवार

अपांगता भएका व्यक्तिको गुनासो : नीति धेरै कार्यान्वयन पक्ष फितलो

तुलसीपुर, २० चैत । अपांगता भएका व्यक्तिको अधिकार सुरक्षित गर्न नीति राम्रो बनेपनि व्यवहारिकरुपमा कार्यान्वयन हुन नसकेको अपांगता भएका व्यक्तिले गुनासो गरेका छन् । राप्ती बहिरा संघले सोमबार तुलसीपुरमा आयोजना गरेको अपांगता अधिकार संबन्धि अभिमूखिकरण कार्यक्रमका सहभागीले यस्तो बताएका हुन् ।

उनिहरुले नेपालको संविधान २०७२ जारी भएपछि अपांगता भएका व्यक्तिको पक्षमा धेरै कुरा उल्लेख भएपनि व्यवहारिकरुपमा पाउन नसकेको गुनासो गरेका छन् । राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेशका सल्लाहकार तथा राप्ती बहिरा संघका कार्यकारी निर्देशक प्रतिमा शर्माले अपांगता भएका व्यक्तिको अधिकार सुरक्षाका लागि बनेका नीति कार्यान्वयनमा जोड दिनुभयो ।

संविधानमा निशुल्क शिक्षा , सामाजिक न्यायको हक, सार्वजनिक सेवामा समान अधिकारको पहुँच लगायतका व्यवस्था भएपनि व्यवहारिकरुपमा अझै पाउन नसकेको उहाँको भनाई छ । संघका अध्यक्ष रिता चौधरीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागी वडास्तरीय अपांग संजाल तुलसीपुर-१९ का अध्यक्ष सौरी चौधरी , वडा नम्बर ६ का अध्यक्ष बच्चुराम परियार, वडा नम्बर ९ का अध्यक्ष छबि भण्डारी लगायतले अपांगता भएका व्यक्तिले सार्वजनिक सवारीमा भाडामा पाउने छुट पाउन नसकेको, स्थानीय सरकारले अपांगताको पक्षमा बजेट खर्च गर्न कन्जुस गर्ने गरेको लगायतका समस्या रहेको बताउनुभयो ।

राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष अजयकुमार शर्मा अपांगताको अधिकार सुरक्षित गर्न सरोकारवाला जिम्मेवार बन्नुपर्ने बताउनुभयो । राष्ट्रिय अपांग महासंघ लुम्बिनी प्रदेश सदस्य दृष्टिबिहिन राम बहादुर खड्का अपांगता भएका व्यक्तिले समाजमा सम्मानपूर्वक बाँच्न पाउने अधिकार सुरक्षित गर्नुपर्ने बताउनुभयो । अपांग समाज सुधार केन्द्र तुलसीपुरका हुमकान्त कडेँलले अपांग व्यक्तिको नाममा आएको बजेट प्राप्त गर्न नसकेको बताउनुभयो ।

त्यस अवसरमा तुलसीपुर उपमहानगरपालिका महिला बालबालिका तथा सामाजिक विकास शाखा प्रमुख माया श्रेष्ठले बिगतको तुलनामा तुलसीपुरमा अपांगता भएका व्यक्ति बढेको बताउनुभयो ।

उहाँले पाँच वर्षअघि तुलसीपुरमा १ हजार ५७० रहेकोमा पछिल्लो समय ३ हजार बढी रहेको बताउनुभयो । यस्तै नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सल्लाहकार तथा त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालिका अध्यक्ष सुरेश हमालले अपांगता भएको व्यक्तिलाई सम्मानपूर्वक यात्रा गराउन आफुहरु निरन्तर लागिरहेको बताउनुभयो ।

उहाँले सार्वजनिक सवारीमा अपांगता भएका व्यक्तिलाई निशुल्क यात्रा गराईरहेको बताउँदै आगामी दिनमा थप व्यवस्थित गर्ने बताउनुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष तुलसी थापा, वडा नम्बर २ अध्यक्ष भिम बहादुर योगी, ९ का अध्यक्ष घनश्याम ढकाल १४ का अध्यक्ष शंकर कुमार खड्का , १६ का अध्यक्ष शिवानन्द डाँगी लगायतले आगामी वर्षमा अपांगता भएका व्यक्तिको पक्षमा बजेटलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

मानवअधिकारकर्मी सुशील बस्नेतले सबै क्षेत्रमा अपांगता भएका व्यक्तिलाई समस्या हुने गरेको बताउनुभयो । मानवअधिकार तथा शान्ति समाज दाङ शाखा सभापति नवीन कुमार पोखरेलले सम्मानपूर्वक बाँच्ने वातावरण बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण अपांग महिला नगरस्तरिय संजालका अध्यक्ष देवा डाँगीले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस