२०८१ असोज १८ गते शुक्रवार

कपाल काटेको शुल्क एकैपटकमा ५० प्रतिशत वृद्धि

दाङ, २० चैत । नाई संघ (कपाल काट्नेहरूको संगठन) ले शुल्कमा मनोमानी अत्याधिक बृद्धि गरेको छ ।

अस्वभाविक रूपमा कपाल काटेको ज्याला एकैपटकमा ५० प्रतिशत बृद्धि भएपछि उपभोक्ताहरू मारमा परेका छन् । तर नियमनकारी निकाय भने मौन रहेको छ ।

दाङमा रहेका नाई व्यवसायीले कपाल काटेको ज्याला एकै पटकमा ५० प्रतिशत बृद्धि गरेका हुन् । यसअघि सामान्य कपाल काटेको एक सय रूपैयाँ लिदै आएका व्यवसायीले पछिल्लो समय ५० प्रतिशत वृद्धि गरी १५० रूपैयाँ लिन थालेका छन् ।

घोराही, तुलसीपुर, लमही, भालुवाङलगायत दाङका मूख्य बजारमा नाइ व्यवसायी संघले माघ १५ गतेदेखि कपाल काटेको ज्याला ५० प्रतिशत ज्याला बृद्धि गरेको हो । आर्थिक मन्दीको प्रभाव बढ्दै गएको समयमा कपाल काटेको ज्याला एकैपटक ५० प्रतिशत बढाएपछि आम उपभोक्ता मारमा परेका छन् । कपाल काटेको ज्याला एकै पटक आधा रकम बृद्धि हुँदा पनि सम्बन्धित निकायले चासो नदिएको तुलसीपुरका यज्ञ बहादुर पुनले बताउनुभयो ।

नाई व्यवसायीले स्थानीय सरकार, उद्योग वाणिज्य संघको समन्वय बिनै एकैपटक ५० प्रतिशत बृद्धि गरेको देखिएको छ । तुलसीपुर उपमहानगरपालिका उपभोक्ता हित संरक्षण शाखा प्रमुख रेखा शर्माले आफूले पनि एकैपटक उपभोक्ताको गुनासो आएपछि ज्याला बृद्धि भएको जानकारी पाएको बताउनुभयो ।

‘१५/२० रूपैयाँ बृद्धि हुनु अस्वभाविक होइन्, तर अहिले ५० प्रतिशत ज्याला वृद्धि भएको छ’ उनले भनिन्- ‘यसको नियमनका लागि प्रक्रिया अघि बढाएको छु ।’ अस्वभाविक रूपमा बृद्धि भएको गुनासो आएपछि सम्बन्धित व्यवसायीलाई बोलाएर छलफलसमेत गरेको उनले बताइन् ।

‘तुलसीपुरमा सञ्चालित नाई व्यवसायीलाई बोलाएर सोमबार नै ध्यानाकर्षण गराईसकेका छौँ’ उहाँले भन्नुभयो ‘ तुलसीपुरका पछिल्लो समय बृद्धि भएको ज्याला जिल्लाकै निणर्य भएकाले रकम घटाउने बारे जिल्लासँग समन्वय गरेर मात्रै जानकारी गराउने बताएका छन् ।’

अहिले जिल्लामा कपाल काटेको न्यूनतम १५० भएपनि अधिकतम असीमित रहेको छ । सामान्य कपाल काटेको पनि तुलसीपुुरका केही व्यवसायीले २५० रूपैयाँसम्म लिने गरेका छन् । नेपाल नाई संघ तुलसीपुरका अध्यक्ष बैजनाथ ठाकुरले लामो समयपछि ५० रूपैयाँ बृद्धि गरिएको बताउनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र २० गते सोमवार
प्रतिक्रिया दिनुहोस